शिक्षा

ललितपुरको जेम्स स्कूलमा ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’ उद्घाटन, विद्यार्थीले सिक्न पाउनेछन् रोबोटिक्स र एआई

By अर्जुन भट्टराई

ललितपुरको जेम्स स्कूलमा ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’ उद्घाटन, विद्यार्थीले सिक्न पाउनेछन् रोबोटिक्स र एआई

ललितपुर। धापाखेलस्थित जेम्स स्कूलले आफ्नो अत्याधुनिक ‘थ्रिडीआई इन्क्यूबेसन ल्याब’को उद्घाटन गरेको छ। २१औँ शताब्दीको द्रुत परिवर्तनशील विश्वमा यो ल्याब विद्यार्थीहरूका लागि एक महत्त्वपूर्ण कोसेढुंगा साबित हुने विद्यालयको अपेक्षा छ।

उद्घाटन समारोहमा थ्रिडीआई स्कूल न्युजिल्यान्डका निर्देशक डा. क्रेग हान्सन, थ्रिडीआई स्कूल नेपालका प्रतिनिधिहरू, विद्यालयका शैक्षिक तथा प्रशासनिक नेतृत्वकर्ताहरू, अभिभावक र शुभेच्छुकहरू उपस्थित थिए। सृजनशीलता, नवप्रवर्तन र प्रयोगात्मक सिकाइलाई प्रवर्द्धन गर्ने साझा उद्देश्यका साथ यो अवसरलाई उत्सवका रूपमा मनाइयो।

प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरूका लागि स्थापना गरिएका यी दुई इन्क्यूबेसन ल्याबलाई ‘डिस्कभर’ (पत्ता लगाउने), ‘डिजाइन’ (नक्साङ्कन गर्ने), ‘डेभलप’ (विकास गर्ने) र ‘इनोभेट’ (नवप्रवर्तन गर्ने) थलोका रूपमा विकास गरिएको छ। यहाँ विद्यार्थीहरूले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल फेब्रिकेसन, कोडिङ, इन्जिनियरिङ, सिर्जनात्मक कला र अन्तरविषय समस्या समाधान जस्ता क्षेत्रमा प्रत्यक्ष रूपमा सिक्न पाउनेछन्।

कार्यक्रममा बोल्दै शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले भने, ‘नवप्रवर्तन अब केवल प्रविधिमा सीमित नरही एक मानसिकता बनिसकेको छ। यसले जिज्ञासा, आलोचनात्मक सोच र अर्थपूर्ण सहकार्यलाई बढावा दिन्छ।’ यस्ता प्रयोगशालाले विद्यार्थीहरूलाई प्रश्न सोध्न, प्रयोग गर्न, असफलताबाट सिक्न र वास्तविक जीवनका चुनौतीहरूको समाधान खोज्न सक्षम बनाउने उनले बताए। साथै, यो पहललाई सफल बनाउन सहयोग गर्ने बोर्ड अफ डाइरेक्टर्स, अभिभावक, शिक्षक र सम्पूर्ण विद्यालय परिवारप्रति उनले कृतज्ञता व्यक्त गरे।

थ्रिडीआई स्कूलका प्राविधिक निर्देशक जगदीश लोलोगुले भने, ‘यी ल्याबहरूले विभिन्न उमेर समूहका विद्यार्थीहरूलाई सोधखोजमा आधारित सिकाइ, प्रोटोटाइप निर्माण र कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर दिनेछन्।’

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई उद्यमशीलता र डिजाइन सोचसँग जोडेर यी प्रयोगशालाले विद्यार्थीहरूलाई भविष्यका लागि तयार पार्ने लक्ष्य राखिएको विद्यालय परिवारले जनाएको छ। मुख्य वक्ता डा. क्रेग हान्सनले वर्तमानका युवा विद्यार्थीहरूले भविष्यमा आउने रोजगारीका अवसरका लागि आवश्यक सीप हाल नै विकास गर्नुपर्नेमा जोड दिए।

रिबन काटेर र शिलालेख अनावरण गरी कार्यक्रमको औपचारिक शुरुवात गरिएको थियो। सहभागीहरूले प्रयोगशालाको अवलोकन तथा अन्तरक्रिया गर्दै ल्याबले प्रदान गर्ने विभिन्न अवसरहरूबारे जानकारी लिए।

थ्रिडीआई इन्क्यूबेसन ल्याबको शुभारम्भसँगै जेम्स स्कूलले पाठ्यपुस्तकभन्दा पर गएर अन्वेषण, सृजनशीलता, सहकार्य र जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्ने दिशामा ठूलो फड्को मारेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.