काठमाडौं । द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज अवार्ड हासिल गरेका छन्।
आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झालाई यो पुरस्कार ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड नेपाल’द्वारा आयोजित ‘नेशनल अवार्ड सेरेमोनी २०२६’ मा औपचारिक रूपमा प्रदान गरिएको हो। यो समारोह २०८३ साल श्रावण ४ गते सोमबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भयो।
समारोहमा देशभरका ब्रोंज, सिल्भर र गोल्ड अवार्ड विजेता विद्यार्थीहरूलाई उनीहरूको मेहनत, लगनशीलता, आत्मविकासप्रतिको प्रतिबद्धता तथा सामुदायिक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरियो।
द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड १४ देखि २४ वर्ष उमेर समूहका युवायुवतीका लागि सञ्चालित विश्वव्यापी मान्यताप्राप्त आत्मविकास कार्यक्रम हो। यसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा योगदान दिन र साहसिक यात्राका माध्यमबाट आफ्नो व्यक्तित्व विकास गर्न प्रेरित गर्छ। ब्रोंज अवार्डलाई सहभागीहरूको निरन्तर मेहनत, अनुशासन र व्यक्तिगत विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
विद्यार्थीहरूलाई बधाई दिँदै बीइजी बोर्ड तथा बीएमसी कलेज व्यवस्थापनका तर्फबाट अरुण कुमार कडेंलले भने, ‘तपाईंहरूको मेहनत, समर्पण र प्रतिबद्धताले हामी सबैलाई गौरवान्वित बनाएको छ। तपाईंहरूको उपलब्धि अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ। आगामी दिनहरूमा पनि अझ धेरै सफलता हासिल गर्नुहोस् भन्ने हाम्रो शुभकामना छ।’
कलेजले विद्यार्थीहरूलाई यस उपलब्धिसम्म पुग्न आवश्यक मार्गदर्शन र निरन्तर साथ दिनुभएका राजन कुमार राईप्रति विशेष आभार पनि व्यक्त गरेको छ।
द ब्रिटिस मोडल कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई समान प्राथमिकता दिँदै आएको छ। कलेजले विद्यार्थीहरूलाई केवल शैक्षिक उपलब्धिमा मात्र सीमित नरही द ड्युक अफ एडिनबग्र्स जस्ता सहपाठ्यक्रम तथा चरित्र निर्माणका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्दै आत्मविश्वासी, सक्षम र समाजप्रति उत्तरदायी भावी नेतृत्व निर्माणमा योगदान पुर्याइरहेको छ।
