लन्डन। नेपालको किङ्स कलेजको विद्यार्थी टोलीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको स्कोल सेन्टर फर सोसल अन्ट्रप्रन्योरशिपद्वारा आयोजित ‘म्याप द सिस्टम ग्लोबल फाइनल–२०२६’ प्रतियोगितामा ‘इनभल्भमेन्ट अफ अन्डररिप्रेजेन्टेड भोइसेज अवार्ड–२०२६’ हासिल गरेको छ।
विश्वका ४८ वटा विश्वविद्यालय तथा कलेजका टोली सहभागी भएको यस प्रतिष्ठित प्रतियोगितामा किङ्स कलेजको तर्फबाट अरुणा जोशी, कबिन श्रेष्ठ, मदन लम्साल, प्रकृति ढुँगेल र प्रशान्त पराजुलीको टोलीले भाग लिएको थियो।
टोलीले ‘नेपालमा मानव–बाँदर द्वन्द्व: कृषक विस्थापनको अध्ययन’ विषयमा प्रणालीगत सोचमा आधारित अनुसन्धान प्रस्तुत गर्यो। यस अध्ययनमा मानव–बाँदर द्वन्द्वका कारण मध्यपहाडी क्षेत्रमा कृषि उत्पादन घट्दै गएको, खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको, ग्रामीण पलायन भइरहेको र खाद्य सुरक्षामा चुनौती देखिएको विषयलाई नीतिगत तथा संस्थागत कमजोरीसँग जोडेर विश्लेषण गरिएको थियो। साथै समस्याको दीर्घकालीन र दिगो समाधानका लागि प्रणालीगत हस्तक्षेपका उपायहरू पनि प्रस्ताव गरिएको थियो।
उल्लेखनीय छ, यो पुरस्कार त्यस्ता टोलीलाई दिइन्छ जसले अनुसन्धानको क्रममा प्रायः ओझेलमा पर्ने समुदायहरूको आवाजलाई प्रभावकारी रूपमा समेट्छन्। नेपाली टोलीले किसान, स्थानीय समुदाय, अनुसन्धानकर्ता, संरक्षणविद् र नीति निर्माताहरूको दृष्टिकोणलाई समावेश गर्दै अध्ययन प्रस्तुत गरेकाले यो सम्मान प्राप्त भएको हो।
‘म्याप द सिस्टम’ अक्सफोर्ड विश्वविद्यालयको स्कोल सेन्टरद्वारा सञ्चालित विश्वव्यापी शैक्षिक कार्यक्रम हो, जसले विद्यार्थीहरूलाई सामाजिक तथा वातावरणीय जटिल समस्याहरूको केवल लक्षण मात्र नहेरी तिनका मूल कारण, अन्तरसम्बन्ध र दीर्घकालीन समाधान खोज्न प्रणालीगत सोच अपनाउन प्रेरित गर्दछ।
यस उपलब्धिले किङ्स कलेज मात्र नभई नेपालका विद्यार्थी र अनुसन्धानकर्ताहरूको अन्तर्राष्ट्रिय क्षमतालाई विश्वमञ्चमा स्थापित गरेको छ। साथै, नेपालको ग्रामीण कृषि र मानव–वन्यजन्तु द्वन्द्वजस्ता स्थानीय समस्याहरू पनि विश्वव्यापी बहस र समाधानको विषय बन्न सक्छन् भन्ने सन्देश यस सफलताले दिएको छ।
