अर्थ

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

By अर्जुन भट्टराई •

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन्।

नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले भने, ‘युवा नेतृत्व अब भविष्यको मात्र होइन, यो वर्तमानको आवश्यकता बनिसकेको छ।’

उनले विश्व अर्थतन्त्र तीव्र गतिमा परिवर्तन भइरहेको बताउँदै डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), हरित नवप्रवर्तन, उद्यमशीलता तथा ज्ञानमा आधारित उद्योगहरूले व्यापारको स्वरूप बदल्दै गएको उल्लेख गरे। यस्तो परिवर्तित परिवेशमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

अग्रवालले नेपालमा ऊर्जाशील, प्रतिभाशाली र महत्वाकांक्षी युवा जनशक्ति रहेको उल्लेख गर्दै नवप्रवर्तन, उद्यमशीलता, लगानी तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरण बनाउन सकेमा यसलाई आर्थिक समृद्धिको आधार बनाउन सकिने बताए।

उनले नेपाल युथ चेम्बरलाई युवा उद्यमीहरूको नेतृत्व विकास, विचार आदानप्रदान, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार तथा राष्ट्रिय आर्थिक नीतिमा योगदान गर्ने प्रभावकारी मञ्चका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। नेपाल चेम्बर अफ कमर्स युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नीतिगत वकालत, व्यापारिक सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय साझेदारी, डिजिटल रूपान्तरण तथा नवप्रवर्तनमुखी कार्यक्रममार्फत सहयोग गर्न प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।

समारोहमा नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै अग्रवालले उनीहरूको सहभागिताले नेतृत्व क्षमता, इमानदारिता र जिम्मेवारीप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्ने बताए। उनले नेतृत्व अधिकारले नभई सेवाभावले मापन हुने उल्लेख गर्दै पद केवल प्रतिष्ठाको विषय नभई अरूका लागि अवसर सिर्जना गर्ने जिम्मेवारी पनि भएको बताए।

कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ललगायतले मन्तव्य राखे। नेपाल युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले युवा उद्यमीहरूको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.