ब्रेकिङ

सरकारका १०० दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार : सांसद आर्यन राई

By अर्जुन भट्टराई •

सरकारका १०० दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार : सांसद आर्यन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले १०० दिनमा ठूला उपलब्धि हासिल गर्ने दाबी गरेपनि नागरिकले परिणाम अनुभव गर्न नसकेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘सरकारको कर्तव्य र प्रतिपक्षको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद राईले भने, ‘सरकारले १०० दिनमा धेरै काम गर्छु भनेर ठूलो महत्वाकांक्षा देखाएको थियो, तर नागरिकले त्यसअनुसारको परिणाम अनुभूति गर्न सकेका छैनन्।’

उनले सरकारले सुरुमै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको र प्रतिपक्ष तथा सञ्चारकर्मीको दबाबपछि मात्र केही सुधार आएको बताए।

संविधान संशोधनसम्बन्धी छलफल टोलीको सदस्य समेत रहेका सांसद राईले संविधान संशोधन गर्नुअघि समुदाय, भूगोल र लैङ्गिक समावेशितालाई आधार बनाएर सुझाव संकलन गर्नुपर्ने बताए। संविधान संशोधनका नाममा संघीयता तथा आदिवासी जनजाति, दलित, मधेसी, थारु र मुस्लिमलगायत समुदायका अधिकार कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले आफ्नो पार्टीले यसको निरन्तर विरोध गरिरहेको जानकारी दिए।

सुशासनको नारा दिए पनि व्यवहारमा पारदर्शिता नदेखिएको भन्दै उनले थपे, ‘अध्यादेशमार्फत राजनीतिक नियुक्ति हटाइए पनि त्यसपछि भएका नियुक्तिमा पारदर्शी प्रक्रिया अपनाइएको छैन।’ सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारले दमन गरेको पनि उनले आरोप लगाए।

पर्याप्त अध्ययनबिना योजना समावेश गरिएकाले आगामी वर्ष ठूलो परिमाणमा बजेट फ्रिज हुने अवस्था आउने उनको भनाइ छ।

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसद राईले भने, ‘यसले नेपालको कूटनीतिक अडान कमजोर बनाएको छ।’ यस्ता संवेदनशील विषयमा प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने उनको माग छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.