विवाहपछि पनि सपना पूरा गर्ने आत्मविश्वास : मिसेस नेपाल वल्र्ड २०२६ को अडिसनमा महिलाको उत्साह
नेपालमा पछिल्लो समय विभिन्न उमेर समूह र क्षेत्रका व्यक्तिलाई लक्षित गर्दै सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतियोगिताहरू आयोजना हुने क्रम बढेको छ । यस्तै प्रतियोगितामध्ये विवाहित महिलाका लागि आयोजना हुँदै आएको **‘मिसेस नेपाल वल्र्ड २०२६’** को अडिसनमा उल्लेख्य संख्यामा विवाहित महिलाको सहभागिता देखिएको छ ।
व्यक्तिगत पहिचान निर्माण गर्ने, आत्मविश्वास बढाउने, नयाँ ज्ञान हासिल गर्ने तथा विवाहपछि अधुरा रहेका सपना पूरा गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रका महिलाहरू अडिसनमा सहभागी भएका छन् । उनीहरूले सौन्दर्यसँगै आफ्नो क्षमता, प्रतिभा, विचार र सामाजिक उद्देश्यलाई समेत प्रतियोगिताको माध्यमबाट प्रस्तुत गर्ने बताएका छन् ।
**सुनिता श्रेष्ठ कर्माचार्य** ले प्रतियोगितालाई नयाँ कुरा सिक्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसरका रूपमा लिएको बताइन् । उनले अन्तिम चरणसम्म पुग्ने आशा रहेको बताइन् । **महिलाको आत्मविश्वास** बढाउन यस्ता प्रतियोगिता आवश्यक रहेको उनको भनाइ छ ।
**श्रद्धा श्रेष्ठ** ले **‘राइज एन्ड साइन’** अवधारणासहित प्रतियोगितामा सहभागी भएको बताइन् । उनले महिला सशक्तीकरणका लागि **शिक्षा र आर्थिक स्वतन्त्रता** महत्वपूर्ण रहेको बताइन् । उनका अनुसार महिलाले अरू कसैले अवसर सिर्जना गरिदेला भनेर पर्खनुभन्दा आफ्ना लागि आफैं अवसर सिर्जना गर्नुपर्छ ।
**स्वेच्छा पौडेल** भने सामाजिक सञ्जालमा देखेको विज्ञापनबाट प्रभावित भएर अडिसनमा सहभागी भएकी हुन् । विवाहपछि पनि महिलाले आफ्ना इच्छा र क्षमता अनुसार अघि बढ्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नु आफ्नो उद्देश्य रहेको उनले बताइन् । **‘म्यारिज इज नट द एन्ड’** अर्थात् विवाह नै जीवनको अन्त्य होइन भन्ने सन्देश दिन चाहेको उनले बताइन् ।
महिलाहरूले आफ्नो क्षमता र रुचिका काम गर्न महिलाले आफैंलाई सीमित गर्न नहुने भन्दै **अडिसनमा सहभागी ऋचा शर्मा** ले पनि आफूले चाहेको काम गर्न परिवारबाट निरन्तर समर्थन पाइरहेको बताइन् । **चितवन भरतपुरकी रचना श्रेष्ठ** ले विवाहित महिलाका लागि यस्तो प्लेटफर्म निकै महत्वपूर्ण रहेको बताइन् ।
अडिसनमा सहभागी महिलाहरूका भनाइमा एउटै साझा भावना देखिन्छ कि विवाह महिलाको सपनाको अन्त्य होइन । घर, परिवार र पेशागत जिम्मेवारीसँगै आफ्नो क्षमता र रुचिलाई अघि बढाउन सकिन्छ भन्ने सन्देश उनीहरूले प्रतियोगितामार्फत दिन खोजेका छन् । यस अर्थमा **‘मिसेस नेपाल वल्र्ड २०२६’** उनीहरूका लागि एकमात्र सौन्दर्य प्रतियोगिता नभई आत्मविश्वास, व्यक्तित्व विकास, महिला सशक्तीकरण र अधुरा सपना पूरा गर्ने एउटा प्लेटफर्मका रूपमा देखिएको छ ।
