शिक्षा

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ

By अर्जुन भट्टराई •

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बुधबार कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराए।

शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा पहिले विश्वविद्यालय सभाको बैठक बसी योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गरिएको थियो। त्यसपछि तत्काल दुवैलाई शपथ ग्रहण गराइयो।

सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष मन्त्री पोखरेलमार्फत सभामा सिलबन्दी खामभित्र योग्यताक्रमसहितको प्रतिवेदन पेश गरेका थिए।

मन्त्री पोखरेलले यो सिफारिस प्रक्रिया मेडिकल क्षेत्रका १० जना विज्ञद्वारा मूल्याङ्कन गरी स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए। उनले थपे — नवनियुक्त पदाधिकारीको नेतृत्वमा यही वर्षदेखि विश्वविद्यालयमा पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य सुरु हुने विश्वास आफूलाई रहेको छ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था छ।

सभाको बैठकमा सहकुलपतिद्वय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थित थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.