‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने नाराका साथ काठमाडौंमा १२औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुन लागेको छ। यो मेला असार २७ र २८ गते नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा सम्पन्न हुनेछ।
भिजन इन्कर्पोरेसनका निर्देशक तारा मान रावलका अनुसार विगत ११ वर्षदेखि स्वदेशी उच्च शिक्षाको प्रवर्द्धन गर्दै आएको यस मेलाको १२औं संस्करण भिजन मिडिया इन्कर्पोरेसन, एजुकेसन डटकम र अनुपम एकेडेमीको संयुक्त आयोजनामा हुँदैछ।
मेलाको मुख्य उद्देश्य नेपालमै उपलब्ध गुणस्तरीय उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकहरूलाई सही, विश्वसनीय र प्रत्यक्ष जानकारी दिनु हो। साथै, स्वदेशी शिक्षाप्रति सकारात्मक सोच विकास गर्नु पनि यसको लक्ष्य रहेको आयोजकले जनाएका छन्।
दुई दिने यस मेलामा नेपालका विभिन्न विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी प्रतिष्ठित कलेज तथा शैक्षिक संस्थाहरू सहभागी हुनेछन्। काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, शंकरदेव क्याम्पस, युनिभर्सिटी अफ नेपाल र नेपाल इन्जिनियरिङ कलेज जस्ता नामचलेका संस्थाहरू पनि मेलामा उपस्थित रहनेछन्।
मेलामा व्यवस्थापन, सूचना प्रविधि, इन्जिनियरिङ, मेडिकल, हस्पिटालिटी, एभिएसन, मानविकी, कानुन, शिक्षा तथा विज्ञान संकायअन्तर्गतका स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरूबारे विस्तृत जानकारी प्रदान गरिनेछ।
मेलामा आउने विद्यार्थी तथा अभिभावकहरूलाई निःशुल्क शैक्षिक तथा करियर परामर्श दिइनेछ। यसका अतिरिक्त निःशुल्क चलचित्र टिकट, छात्रवृत्ति, लक्की ड्र तथा विभिन्न आकर्षक उपहारहरूको पनि व्यवस्था गरिएको छ। आयोजकले यस मेलामा ५ हजारभन्दा बढी प्लस टु उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहने अपेक्षा राखेका छन्।
