काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालित ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भए। सहभागी विद्यार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।
परीक्षाफल २० वटा संस्थाका वेबसाइट, आइभीआर तथा एसएमएस–यूएसएसडी सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ।
नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। यसका साथै नतिजा प्रकाशनमा कुनै प्राविधिक त्रुटि देखिएमा आवश्यक परीक्षणपछि सच्याइने व्यवस्था पनि मिलाइएको बोर्डले जनाएको छ।
