शिक्षा

दक्षिण एसियामै पहिलो: बीपीसीले पायो युनिभर्सिटी अफ लन्डनको स्नातक व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्ने मान्यता

By अर्जुन भट्टराई

दक्षिण एसियामै पहिलो: बीपीसीले पायो युनिभर्सिटी अफ लन्डनको स्नातक व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्ने मान्यता

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) ले बेलायतको युनिभर्सिटी अफ लन्डनको स्नातक व्यावसायिक लेखा कार्यक्रम सञ्चालन गर्न मान्यता प्राप्त गरेको छ। यससँगै बीपीसी दक्षिण एसियामै स्नातक र स्नातकोत्तर व्यावसायिक लेखा — दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र मान्यता प्राप्त शिक्षण केन्द्र बन्न पुगेको छ।

कलेजका अनुसार यो कार्यक्रम विशेषगरी चार्टर्ड प्रमाणित लेखापाल संघ (एसीसीए) का विद्यार्थी, आबद्ध सदस्य तथा सदस्यहरूका लागि तयार गरिएको हो। एसीसीएको अध्ययन जारी राख्दै विद्यार्थीहरूले युनिभर्सिटी अफ लन्डनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्नातक उपाधि पनि हासिल गर्न सक्नेछन्।

एसीसीएअन्तर्गत पहिले नै उत्तीर्ण गरिएका केही विषयको मान्यता (क्रेडिट ट्रान्सफर) मिल्ने भएकाले विद्यार्थीहरूले करिब एक वर्षमै स्नातक उपाधि पूरा गर्न सक्नेछन्। यसका साथै किफायती शुल्क, लचिलो अध्ययन तालिका र काम गर्दागर्दै पढ्न मिल्ने सुविधा पनि उपलब्ध छ।

विद्यार्थीहरूले नेपालमै बसेर प्रत्यक्ष कक्षा वा अनलाइन माध्यममार्फत अध्ययन गर्न पाउनेछन्। कार्यक्रममा वित्तीय व्यवस्थापन, कार्यसम्पादन व्यवस्थापन र अनुसन्धान परियोजना समावेश छन्, जसले विद्यार्थीको विश्लेषणात्मक तथा व्यावसायिक सीप विकासमा सहयोग गर्ने कलेजले जनाएको छ।

वित्तीय व्यवस्थापन र कार्यसम्पादन व्यवस्थापन विषय सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरूले एसीसीएका सम्बन्धित परीक्षामा थप शुल्क नतिरी छुट पाउने व्यवस्था समेत गरिएको छ। यसका अतिरिक्त, विद्यार्थीहरूले चौबीसै घण्टा उपलब्ध कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन सहयोगीको सुविधा पाउनेछन्, जसले विषयवस्तु बुझ्न, ज्ञान परीक्षण गर्न र अध्ययन योजना बनाउन मद्दत गर्नेछ।

यस उपलब्धिबारे प्रतिक्रिया दिँदै ब्रिटिश एजुकेशन ग्रुपका व्यावसायिक शिक्षातर्फका प्रमुख दिपेन्द्र के. श्रेष्ठले यो मान्यता नेपाली विद्यार्थीका लागि एक महत्वपूर्ण अवसर भएको बताए। उनले भने, “एउटै संस्थाबाट युनिभर्सिटी अफ लन्डनको स्नातक र स्नातकोत्तर उपाधिसँगै एसीसीएको व्यावसायिक योग्यता हासिल गर्न सकिने वातावरण तयार भएको छ।” एक वर्षमै उपाधि पूरा गर्न सकिने व्यवस्था, एकीकृत अध्ययन प्रणाली र कृत्रिम बुद्धिमत्तामा आधारित सहयोगले यो कार्यक्रमलाई झनै प्रभावकारी बनाएको उनको भनाइ छ।

वि.सं. २०६८ (सन् २०११) मा स्थापना भएको ब्रिटिश प्रोफेशनल कलेज बेलायतका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँगको सहकार्यमा नेपालमा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा प्रदान गर्दै आएको छ। नयाँ कार्यक्रम थपिएसँगै नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा र रोजगारीमुखी योग्यतामार्फत वैश्विक प्रतिस्पर्धाका लागि तयार पार्ने आफ्नो अभियान थप बलियो भएको कलेजले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.