शिक्षा

उच्च शिक्षामा राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू, भर्नादेखि नतिजासम्म हुनेछ समयबद्ध

By अर्जुन भट्टराई

उच्च शिक्षामा राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू, भर्नादेखि नतिजासम्म हुनेछ समयबद्ध

काठमाडौं । उच्च शिक्षाको शैक्षिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगले तयार पारेको राष्ट्रिय शैक्षिक क्यालेन्डर अब कार्यान्वयनमा आएको छ। विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत तथा क्यालेन्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा यो क्यालेन्डर लागू गरेको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलवार मन्त्रीस्तरीय निर्णयमार्फत पूर्व स्वीकृत भई कार्यान्वयनमा रहेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन, २०८० लाई समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ। साथै, विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयहरूमा परिपत्र गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।

यो एकीकृत राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएसँगै विश्वविद्यालय शिक्षा सुधारमा ठूलो फड्को मार्न सकिने आयोगको विश्वास छ।

उल्लेखनीय छ कि शासकीय सुधारसम्बन्धी सरकारको सयदिने कार्यसूचीको बुँदा नम्बर ८७ मा स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डरअनुसार प्रकाशन गर्ने लक्ष्य राखिएको थियो। त्यसैलाई शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत कार्यान्वयनमा ल्याएको हो।

क्यालेन्डर कार्यान्वयन विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ को उपदफा (१) को खण्ड (घ), (ङ) र (च) बमोजिम हुनेछ। आवश्यक विषयहरू अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम समावेश गरी आयोगमार्फत विश्वविद्यालयहरूलाई कार्यान्वयनका लागि निर्देशन दिइनेछ।

आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू भएपछि विश्वविद्यालयहरूमा भर्ना, अध्यापन, परीक्षा र नतिजा प्रकाशनलगायत सबै शैक्षिक गतिविधि निर्धारित समयतालिकाअनुसार सञ्चालन हुनेछन्।

यसअघि आयोगले तयार गरेको शैक्षिक क्यालेन्डर २०८० साल भदौ २९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको थियो। बदलिँदो शैक्षिक आवश्यकता र समयानुकूल सुधारका लागि आयोगले शैक्षिक क्यालेन्डर परिमार्जन समिति गठन गरेको थियो। उक्त समितिको २०८३ जेठ १२ गतेको निर्णय तथा सिफारिसका आधारमा क्यालेन्डरमा आवश्यक संशोधन गरी मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.