शिक्षा

परीक्षा र सिकाइ प्रणाली नसुधारी शिक्षा सुधार सम्भव छैन : डा. महाश्रम शर्मा

By अर्जुन भट्टराई

परीक्षा र सिकाइ प्रणाली नसुधारी शिक्षा सुधार सम्भव छैन : डा. महाश्रम शर्मा

काठमाडौं । क्याम्पियन काठमाडौं स्कूल (सीकेएस)ले आयोजना गरेको सप्ताहव्यापी ‘सीकेएस साहित्य उत्सव–२०८३’ अन्तर्गत शनिबार काठमाडौं महानगरपालिका–५, हाडीगाउँस्थित हाडीगाउँ डबलीमा ‘शिक्षा संवादः कस्तो हुनुपर्छ अबको शिक्षा ?’ विषयमा सार्वजनिक संवाद कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा नेपाल सरकारका पूर्व शिक्षा सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले वर्तमान शिक्षा प्रणालीमा सुधार ल्याउन परीक्षा प्रणाली र सिकाइ प्रक्रिया दुवैमा परिवर्तन अपरिहार्य रहेको बताए। उनले भने, ‘हामीले परीक्षा प्रणाली र सिकाइ प्रक्रियालाई सुधार गर्नुपर्छ। सिकाइ सुधारको सुरुआत परीक्षाबाटै हुनुपर्छ, त्यसतर्फ परिवर्तन आवश्यक छ।’

डा. शर्माले नेपालको पाठ्यक्रम क्षमता–आधारित भए पनि व्यवहारमा भने अझै पनि किताब घोकाउने प्रवृत्ति कायमै रहेको बताए। पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिलाई व्यवहारमा उतार्न जरुरी रहेको उल्लेख गर्दै उनले रटानमुखी शिक्षण पद्धति बदल्नुपर्नेमा जोड दिए। उनले भने, ‘कुनै पनि देशको पाठ्यक्रम तत्कालका लागि मात्र होइन, १० वा २० वर्षपछि कस्तो नागरिक निर्माण गर्ने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ तयार गरिएको हुन्छ। तर पाठ्यक्रमले भनेका सिकाइ उपलब्धिलाई किताब घोकाउने हाम्रो प्रवृत्ति छ, त्यसलाई बदल्नुपर्यो।’

उनले समाजको दृष्टिकोण र संस्कृतिमा पनि परिवर्तन आवश्यक रहेको बताउँदै परिवार र विद्यालयबाट बालबालिकालाई दिइने संस्कारले भविष्यको नागरिक निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

कार्यक्रममा टंगाल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारी र चौधरी समूह शिक्षा इकाइका क्लस्टर हेड डा. पीटर लेप्चाले पनि वक्ताका रूपमा आफ्ना विचार राखे। क्याम्पियन काठमाडौं स्कूलकी संयोजक प्रतिभा थापाका अनुसार कार्यक्रममार्फत नेपालको वर्तमान शिक्षा प्रणाली, यसका चुनौती र भविष्यको शिक्षा नीतिबारे खुला छलफल गरिएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.