काठमाडौं। नेपाली युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्ने उद्देश्यले द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक महत्त्वपूर्ण रणनीतिक साझेदारी सम्झौता भएको छ।
यस सम्झौतामा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन्। यस साझेदारी अन्तर्गत क्यान महासंघ यस प्रतिष्ठित प्रतिस्पर्धाको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’को भूमिकामा रहनेछ।
यो सहकार्य केवल एउटा प्रतिस्पर्धामा सीमित नरही नेपालभर छरिएका नवप्रवर्तनकारी सोचहरूलाई एकीकृत गर्दै व्यावसायिक रूपमा स्थापित गर्ने व्यापक अभियानका रूपमा रहनेछ।
उद्यमशीलता काठमाडौँ उपत्यकामा मात्र सीमित नहोस् भन्ने मान्यतासहित यो साझेदारीले देशव्यापी रणनीति अपनाएको छ। नेपालका विभिन्न प्रदेशमा स्थानीय स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू सञ्चालन गरिनेछ। साथै नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ता, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिनेछ भने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरी नवप्रवर्तनकारी आइडियाहरूलाई पूँजीसँग जोड्ने काम गरिनेछ।
सम्झौताका अवसरमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेलले भने, ‘नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक हुन्। क्यान महासंघसँगको यो साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्नेछ।’
क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले भने, ‘क्यान महासंघ स्थापनाकालदेखि नै नेपालको सूचना प्रविधि र नवप्रवर्तनको विकासमा समर्पित छ। द ब्रिटिश कलेजसँगको सहकार्यले हाम्रा प्रविधि उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ।’
पेगासस टेक भेन्चर्सद्वारा विश्वव्यापी रूपमा आयोजना हुने ‘स्टार्टअप वर्ल्ड कप’ विश्वकै सबैभन्दा ठूला र प्रतिष्ठित स्टार्टअप प्रतिस्पर्धाहरूमध्ये एक हो, जुन विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुन्छ।
नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्यालीमा हुने ग्लोबल ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन् र विश्व मञ्चमा दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै १ मिलियन अमेरिकी डलर (करिब १३ करोड रुपैयाँभन्दा बढी) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछन्।
यस प्रतिस्पर्धाले नेपाली युवाहरूका आइडियालाई बजार अनुकूल व्यावसायिक मोडलमा रूपान्तरण गर्न, प्रविधिमा आधारित स्टार्टअपहरूमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्न र विश्व बजारमा ‘ब्रान्ड नेपाल’ को प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
