शिक्षा

विदेशी सम्बन्धनका कलेजमा थप कडाई: नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

By अर्जुन भट्टराई

विदेशी सम्बन्धनका कलेजमा थप कडाई: नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजहरूलाई अब थप कडा नियमको दायरामा ल्याइनेछ। यसका लागि सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको यो नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले यो नियमावली ल्याइएको हो।

नयाँ नियमावलीअनुसार विदेशी सम्बन्धन दिने विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र पर्नुपर्ने अनिवार्य छ। त्यसमा पनि सम्बन्धित विश्वविद्यालय विगत पाँच वर्षको अवधिमा अन्तर्राष्ट्रिय र्‍याङ्किङमा निरन्तर समावेश भएको र कम्तीमा एक पटक उत्कृष्ट १,००० भित्र परेको हुनुपर्ने प्रावधान राखिएको छ।

सँगै, सम्बन्धन लिएका कलेजहरूले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (QAA) प्रक्रिया पूरा गरेको हुनुपर्नेछ। कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता र उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गरिने व्यवस्था पनि नियमावलीमा समावेश छ।

यो नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजहरूमा पनि लागू हुनेछ। तोकिएको मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय दिइनेछ। त्यस अवधिभित्र पनि मापदण्ड पूरा नगरेमा सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाउने सरकारले तयारी गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.