काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले थापालाई यो जिम्मेवारी दिएका हुन् ।
सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई पनि नियुक्त गरिएको छ । विश्वविद्यालय स्रोतका अनुसार यी दुवै नियुक्ति सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यले गरिएका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री समेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले आवेदनहरूको अध्ययन, मूल्यांकन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा थापालाई अध्यक्षमा नियुक्त गरिएको हो । समितिले गत जेठ महिनामा यो पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको थियो ।
आर्किटेक्ट तथा शहरी योजनाविद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् । उनी शहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जल तथा ऊर्जा आयोग सचिवालयलगायत विभिन्न निकायमा सचिवका रूपमा कार्यरत रहे । राष्ट्रिय आवास योजना, राष्ट्रिय शहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति र नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।
भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिमा विज्ञ सदस्यका रूपमा योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा शहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन् । आवास, शहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन र सार्वजनिक नीति क्षेत्रमा उनको लामो र विविध अनुभव छ ।
