अन्तराष्ट्रिय

रुस–युक्रेन युद्ध: ड्रोन र मिसाइल आक्रमण जारी, रुसी सैन्य हेलिकोप्टर युक्रेनको निशानामा

By अर्जुन भट्टराई

रुस–युक्रेन युद्ध: ड्रोन र मिसाइल आक्रमण जारी, रुसी सैन्य हेलिकोप्टर युक्रेनको निशानामा

रुस र युक्रेनले शुक्रबार राति देखि शनिबार बिहानसम्म एकअर्काविरुद्ध व्यापक सैन्य आक्रमण गरेका छन्।

रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विगत २४ घण्टामा रुसी सेनाले युक्रेनको इन्धन, ऊर्जा र यातायात पूर्वाधारका साथै लामो दूरीका ड्रोन उत्पादन तथा भण्डारण केन्द्रहरू गरी जम्मा १४२ स्थानमा आक्रमण गरेको छ। युक्रेनी सैनिक र विदेशी भाडाका लडाकुहरूका अस्थायी तैनाथी स्थलहरू पनि निशानामा परेका छन्। यसका साथै रुसले खार्किभ क्षेत्रका थप चार बस्तीहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।

अर्कोतर्फ, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले शुक्रबार देखि शनिबारसम्म २६८ वटा युद्ध भिडन्त भएको जानकारी दिएको छ। युक्रेनी सेनाले पनि विगत २४ घण्टामा रुसका तीनवटा कमाण्ड पोस्ट, पाँचवटा ड्रोन नियन्त्रण केन्द्र र अन्य सैन्य लक्ष्यहरूमा जवाफी आक्रमण गरेको जनरल स्टाफले जनाएको छ।

जनरल स्टाफका अनुसार रुसी पक्षले प्रहार गरेका दुईवटा मिसाइल र १७ वटा ड्रोनले युक्रेनका १६ स्थानलाई निशाना बनाएका थिए। यसका अतिरिक्त युक्रेनी रक्षा बलले शनिबार बिहान आजोभ सागरको आकाशमा उडिरहेको एउटा रुसी सैन्य हेलिकोप्टरलाई मार हानेको र लुहान्स्क क्षेत्रमा सिभेर्स्की दोनेत्स नदीमाथिको रेल पुलमा पनि आक्रमण गरेको छ।

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.