अन्तराष्ट्रिय

झारखण्ड विद्यार्थी आन्दोलन

By अर्जुन भट्टराई •

झारखण्ड विद्यार्थी आन्दोलन

झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार **११औँ दिनमा प्रवेश गरेको** छ । स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिए पनि उनले अनशन जारी राखेका छन् ।

उनले **झारखण्ड लोक सेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी)** ले सञ्चालन गरेका भर्ती परीक्षामा **अनियमितता** भएको आरोप लगाउँदै लाखौं विद्यार्थीको पक्षमा महतोले आन्दोलन गरिरहेका हुन् । विद्यार्थी संगठनहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै **जनआन्दोलनमा रूपान्तरण** गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनको क्रममा गत **अगस्ट १०** मा राँचीमा आयोजित ‘विधानसभा घेराउ’ कार्यक्रममा करिब **५० हजार विद्यार्थी** सहभागी भएको आन्दोलनकारीहरूको दाबी छ । विद्यार्थी नेता रविन्द्र पासवानका अनुसार प्रशासनले विभिन्न जिल्लाबाट विद्यार्थीलाई राँची आउन रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रिएका थिए ।

प्रदर्शनका क्रममा **प्रहरी र आन्दोलनकारीबीच झडप** भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले **अश्रुग्यास र पानीको फोहोरा** प्रयोग गरेको थियो । आन्दोलनकारीहरूले भने प्रहरीले **विद्यार्थी र सञ्चारकर्मीमाथि लाठीचार्ज** गरेको आरोप लगाएका छन् ।

विद्यार्थी नेता पासवानले सुरुआतमा प्रहरी प्रशासनले सहयोग गरे पनि साँझपछि अचानक **व्यवहार परिवर्तन** भएको आरोप लगाए । उनका अनुसार विद्यार्थीलाई हटाउन **बल प्रयोग** गरिएको थियो । उनले **महिला प्रदर्शनकारीमाथि पुरुष प्रहरी परिचालन** गरिएको भन्दै आपत्ति जनाए ।

अर्का विद्यार्थी नेता पियुष कुमारले पनि आन्दोलन दमन गर्न **राज्य सरकारले बल प्रयोग** गरेको आरोप लगाए। उनले विद्यार्थीमात्र नभई **सञ्चारकर्मीसमेत प्रहरी कारबाहीको शिकार** भएको दाबी गर्दै घटनाको निन्दा गरे । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने र **छिट्टै थप कडा कार्यक्रम** सार्वजनिक गरिने बताए ।

यद्यपि आन्दोलनकारीहरूले राज्य सरकारसँग **संवाद** का लागि आफूहरू अझै तयार रहेको जनाएका छन् । उनीहरूले प्रशासनसँग वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए पनि **बल प्रयोग** स्वीकार्य नहुने बताएका छन् ।

आन्दोलनकारीहरूले **झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी)** को **संयुक्त स्नातक स्तरीय (सीजीएल)** परीक्षा **रद्द** गर्न, **कथित अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)** मार्फत छानबिन गराउन तथा भर्ती प्रक्रियामा **व्यापक सुधार** गर्न माग गरेका छन् ।

मुख्यमन्त्रीलाई सम्बोधन गर्दै आन्दोलनकारीहरूले माग **तत्काल पूरा** गर्न आग्रह गरेका छन् । उनीहरूले माग बेवास्ता गरिए आन्दोलन विद्यार्थीको सीमित विरोधबाट बाहिरिएर **व्यापक जनआन्दोलनमा परिणत** हुन सक्ने चेतावनी दिएका छन् ।

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.