अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट बनाइएको एक भिडियो सार्वजनिक गरेका छन्, जसले अहिले अमेरिकामा व्यापक बहस र चर्चा जगाएको छ।
९० सेकेन्डको यस भिडियोमा ट्रम्प सेतो मेडिकल कोट लगाएर ‘डाक्टर ट्रम्प’को रूपमा देखिन्छन् र आफ्ना विरोधीहरूलाई होच्याउन प्रयोग गरिने चर्चित पदावली ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ (टीडीएस) को उपचार गरिरहेको देखाइएको छ। यो भिडियो ‘डिपफेक’ प्रविधि प्रयोग गरी बनाइएको हो।
भिडियोको सुरुमा ट्रम्पले भन्छन्, ‘के तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति टीडीएसबाट ग्रसित हुनुहुन्छ? यसका लक्षणहरू निकै कष्टकर हुन सक्छन्। सौभाग्यवश, म डाक्टर ट्रम्प हुँ र मसँग यसको उपचार योजना छ।’
भिडियोको खास आकर्षण भनेको यसमा ट्रम्पका कट्टर आलोचक मानिने हलिउड स्टारहरू रोबर्ट डी निरो, जुलिया रोबट्र्स, एडवर्ड नोर्टन, जोन लेगुइजामो र टेलिभिजन प्रस्तोताहरू वुपी गोल्डवर्ग तथा रोजी ओडोनेलका एआई अवतारहरू समावेश गरिनु हो। भिडियोमा यी कलाकारहरू काल्पनिक उपचारपछि आफूलाई सन्चो भएको बताउँदै ट्रम्पको प्रशंसा गरिरहेको देखाइएको छ। एउटा पात्रले भन्छ, ‘म एक दशकभन्दा बढी समयदेखि पीडित थिएँ, तर डाक्टर ट्रम्पलाई सुनेपछि मैले सुधार महसुस गरिरहेको छु।’
भिडियोको अन्त्यमा ट्रम्पले बिरामीहरूलाई सल्लाह दिँदै भन्छन्, ‘उपचार सरल छ। झूटो समाचार हेर्न बन्द गर्नुहोस्, प्रार्थना गर्नुहोस् र यदि कहिल्यै तनाव महसुस भयो भने म जस्तै डाइट कोक पिउनुहोस्, तपाईंको जीवनमा उल्लेखनीय परिवर्तन आउनेछ।’
उल्लेखनीय छ कि ट्रम्पले पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता एआई सामग्रीहरू पोस्ट गर्ने क्रम बढाएका छन्। यसअघि उनले पोपसँग जोडिएको एक विवादित एआई तस्बिर साझा गरेका थिए, जसको व्यापक विरोधपछि उक्त तस्बिर हटाइएको थियो।
