अन्तराष्ट्रिय

‘पीडब्लुएक्सएम: रेसल क्यासल’मा जापानी रेस्लिङ महानायक तात्सुमी फुजिनामी नेपाल आउँदै

By अर्जुन भट्टराई

‘पीडब्लुएक्सएम: रेसल क्यासल’मा जापानी रेस्लिङ महानायक तात्सुमी फुजिनामी नेपाल आउँदै

काठमाडौं। नेपालको व्यावसायिक रेस्लिङ इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पीडब्लुएक्सएम: रेसल क्यासल’ कार्यक्रम आयोजना हुने भएको छ। यस कार्यक्रमको सबैभन्दा ठूलो आकर्षण भनेको विश्व प्रसिद्ध जापानी व्यावसायिक रेस्लर तथा ‘डब्लुडब्लुई हल अफ फेमर’ तात्सुमी फुजिनामीको उपस्थिति हो।

विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्वमध्ये एक मानिने फुजिनामीको नेपाल आगमनले नेपाली रेस्लिङ क्षेत्रका लागि ऐतिहासिक अवसर सिर्जना गर्ने विश्वास आयोजकले राखेका छन्।

खेलकुद, मनोरञ्जन र सङ्गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिने यो भव्य कार्यक्रम २०८३ साल असार २० गते शनिवार दिउँसो २ बजेदेखि ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजना हुनेछ।

कार्यक्रममा फुजिनामीसँगै जापानबाट लेओना फुजिनामी, योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो र ह्योउ ओगवा सहभागी हुनेछन्। नेपाली टोलीको नेतृत्व चर्चित र्‍यापर तथा व्यावसायिक रेस्लर बुलेट फ्लो (थापाकाजी)ले गर्नेछन्। नेपालको व्यावसायिक रेस्लिङका अग्रणी तथा प्रशिक्षक हिमालयन टाईगरको मार्गदर्शनमा तयार भएको यस टोलीमा अनुभवी रेस्लर जोन ब्रीज र लिजार्ड किङ्ग पनि सहभागी हुनेछन्।

पिग ई प्रोडक्सनको प्रस्तुतिमा रहेको यस कार्यक्रमको सह-आयोजक नखिपोट युथ क्लब हो भने निर्देशन तकाशी ताकेइ (टक बिष्ट)ले गरिरहेका छन्।

आयोजकका अनुसार ‘पीडब्लुएक्सएम: रेसल क्यासल’ केवल एउटा मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको गन्तव्यका रूपमा स्थापित गर्ने अभियान हो। यसमार्फत नेपाल र जापानबिच सांस्कृतिक आदान-प्रदान प्रोत्साहन गर्ने, नेपाली रेस्लरलाई अन्तर्राष्ट्रिय अवसर दिने र नयाँ प्रतिभा उत्पादन गर्ने लक्ष्य रहेको छ। कार्यक्रममा चर्चित र्‍याप कलाकार डिबी यो म्याजेस्टी, भी (लेन ३९) र लोकप्रिय गायक कुहाङको साङ्गीतिक प्रस्तुति पनि रहनेछ।

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.