अन्तराष्ट्रिय

म्यान्मास्थित चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार

By अर्जुन भट्टराई

एजेन्सी । म्यानमारको मान्डाले शहरमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार गरिएको स्थानीय सञ्चार माध्यमले शनिबार जानकारी दिएका छन् ।

दरबारको दक्षिणमा रहेको मध्य मान्डालेस्थित वाणिज्य दूतावासको कार्यालयमा स्थानीय समयअनुसार शुक्रबार साँझ ७ बजेतिर विस्फोट भएको हो । चीन म्यान्माको जुन्टाको प्रमुख सहयोगी र हतियार आपूर्तिकर्ता रहेको तर यसले म्यानमाको उत्तरी शान राज्यमा सेनासँग लडिरहेका जातीय समूहहरूसँग पनि सम्बन्ध कायम राखेको विश्लेषकहरूले जनाएका छन् ।

सेनाले सन् २०२१ मा आङ सान सुकीको सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेपछि म्यानमामा अशान्ति छाएको छ । सरकारले शनिबार राति जारी गरिएको वक्तव्यमा उक्त घटनाका लागि ‘आतङ्ककारी’ लाई दोषी ठहर्याइएको छ र उसले वाणिज्य दूतावासका अधिकारीहरूसँगको सहकार्यमा अनुसन्धान गरिरहेको जनाएको छ ।

सुरक्षा निकायले ‘विस्फोट’ भएको पत्ता लगाएको र आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । “आक्रमणबाट दुई तले भवनको छानाको करिब दुई फिट माटोको टायलमा क्षति पुगेको छ,” विज्ञप्तिमा भनिएको छ।

मान्डालेस्थित म्यान्माका एक अधिकारीले एएफपीसँग कुरा गर्दै वाणिज्य दूतावास परिसरमा हिजो साँझ एउटा घटना भएको पुष्टि गरेका छन् । “घटनामा कोही पनि घाइते भएका छैनन्,’ ती अधिकारीले घटनाको प्रकृति नखुलाइकन भने।

म्यान्मारको सुरक्षा बलका सदस्यहरूले पहरा दिने उक्त कम्पाउन्डमा ग्रेनेड प्रहार गरिएको स्थानीय अनलाइन इरावाडीले जनाएको छ। ‘द भ्वाइस अफ म्यान्मा’ पत्रिकाले महावाणिज्य दूतावासमा ‘विष्फोट’ गराइएको र यसमा कसको संलग्नता थियो भन्नेबारे अझै पुष्टि हुन नसकेको जनाएको छ । याङ्गुनस्थित चिनियाँ दूतावासले आक्रमणबारे एएफपीको प्रश्नको जवाफ दिन अस्वीकार गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.