अन्तराष्ट्रिय

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

By अर्जुन भट्टराई

एजेन्सी ।  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौता अन्तर्गत सन् २०३० सम्ममा हाइपरसोनिक क्षेप्यास्त्रहरूलाई खसाउने इन्टरसेप्टर विकास गर्ने योजनामा छन् ।

कथितरूपमा तीन अर्ब डलरभन्दा बढी लागत पर्ने उक्त योजनाको घोषणा पहिलो पटक अगस्टमा दुवै मुलुकका नेताहरूले वासिङ्टन बाहिर क्याम्प डेभिडमा दक्षिण कोरियासँगको शिखर सम्मेलनमा भेट गर्दा भएको थियो ।     

“हालैका वर्षमा जापान वरपर हाइपरसोनिक हतियारजस्ता क्षेप्यास्त्रसम्बन्धी प्रविधिहरूमा नाटकीयरूपमा सुधार भएको छ”, कथित ग्लाइड फेज इन्टरसेप्टर (जिपिआई) संयुक्तरूपमा विकास गर्ने सम्झौताका बारेमा रक्षा मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ, “उनीहरूविरुद्ध अवरोध क्षमताहरूलाई बलियो बनाउन जरुरी मुद्दा हो ।”

जापान सरकारले इन्टरसेप्टरको विकासका लागि आफ्नो सन् २०२४ को बजेटमा ७५ अर्ब येन (४८ करोड डलर) समावेश गरिसकेको छ । हाइपरसोनिक क्षेत्रप्यास्त्रहरू ध्वनिको पाँच गुणाभन्दा बढी गतिमा उड्छन् र उनीहरूको प्रक्षेप मार्ग अनियमित हुँदा तिनीहरूलाई रोक्न मुस्किल हुन्छ ।

चीन र उत्तर कोरियासँग तनाव बढेपछि ७५ अर्ब येन गत वर्ष स्वीकृत ७९ खर्ब ५० अर्ब येनको रेकर्ड रक्षा बजेटको हिस्सा हो । प्रधानमन्त्री फुमियो किशिदाले सन् २०२७ सम्ममा नाटोको मापदण्डमा रक्षा खर्च दोब्बर गरी कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत पुर्याउने वाचा गरेका छन् ।

जापानमा युद्धपछिको शान्तिवादी संविधान छ । संविधानले जापानको सैन्य क्षमतालाई स्पष्टरूपमा रक्षात्मक उपायहरूसम्म सीमित गर्दछ । यद्यपि मुलुकले सन् २०२२ मा प्रमुख सुरक्षा र रक्षा नीतिहरूलाई अद्यावधिक गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.