अन्तराष्ट्रिय

दिनमा पाँच कप कफी पिउनु सुरक्षित, मुटुरोगको जोखिम पनि घट्छ — नयाँ अध्ययन

By अर्जुन भट्टराई •

दिनमा पाँच कप कफी पिउनु सुरक्षित, मुटुरोगको जोखिम पनि घट्छ — नयाँ अध्ययन

अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गरेको एक नयाँ वैज्ञानिक अध्ययनले कफी र मुटुको स्वास्थ्यबारे महत्त्वपूर्ण जानकारी दिएको छ। अध्ययन अनुसार, अधिकांश स्वस्थ वयस्कहरूले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्छन्, जुन करिब ८ औंसका पाँच कप क्याफिनयुक्त कफी बराबर हुन्छ। यति मात्रामा क्याफिन सेवन गर्दा मुटुसम्बन्धी रोगको जोखिम बढ्दैन।

विशेषगरी चिनी, क्रीम वा अन्य पदार्थ नहालिएको कालो कफी (ब्ल्याक कफी) पिउँदा मुटुरोग, हृदय विफलता र स्ट्रोकको जोखिम समेत कम हुन सक्ने अध्ययनले देखाएको छ। साथै, टाइप–२ मधुमेह र केही प्रकारका अनियमित मुटुको धड्कनको जोखिम पनि घट्न सक्छ।

समीक्षा अनुसार दिनमा दुईदेखि चार कप क्याफिनयुक्त कफी पिउनेहरूमा मुटुरोग, हृदय विफलता र स्ट्रोकको जोखिम कम देखिएको छ। तर दिनमा चार कपभन्दा बढी कफी सेवन गर्दा भने केही व्यक्तिमा हृदय विफलताको जोखिम बढ्न सक्ने संकेत पनि फेला परेको छ।

समूहका अध्यक्ष तथा क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका चिकित्सा प्राध्यापक ग्रेगरी एम. मार्कसले भने, ‘कफीमार्फत सेवन गरिने क्याफिन संसारभरका लाखौं मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा हो। हाम्रो अनुसन्धान अनुसार अधिकांश वयस्कका लागि दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्नु सुरक्षित छ र यसले मुटुसम्बन्धी जोखिम बढाउँदैन।’ उनले थपे कि एनर्जी ड्रिंक वा एनर्जी शटमा पाइने अत्यधिक क्याफिनले भने मुटुमा हानिकारक असर पार्न सक्छ, त्यसैले यस्ता पेय पदार्थको अत्यधिक सेवनबाट बच्नुपर्छ।

अनुसन्धानकर्ताहरूले सबै क्याफिनयुक्त पेय पदार्थको प्रभाव एकसमान नहुने चेतावनी दिएका छन्। एनर्जी ड्रिंक र एनर्जी शटमा प्रति फ्लुइड औंस ४० देखि ६९ मिलिग्राम क्याफिन हुन सक्छ, जबकि सामान्य कफीमा प्रति फ्लुइड औंस ९.४ देखि २०.६ मिलिग्राम मात्र क्याफिन हुन्छ। यस्ता एनर्जी पेयले रक्तचाप बढाउने र मुटुको धड्कन असामान्य बनाउने जोखिमसँग सम्बन्धित रहेको पनि अध्ययनमा उल्लेख छ।

अनुसन्धानकर्ताहरूले क्याफिनप्रति प्रत्येक व्यक्तिको शरीरको प्रतिक्रिया फरक–फरक हुन सक्ने र कफीमा हालिने चिनी, फ्लेभरयुक्त सिरप, दूध वा क्रीमजस्ता पदार्थहरूले पनि स्वास्थ्यमा प्रभाव पार्न सक्ने बताएका छन्। (एएनआइ)

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.