काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित भएको छ। सरकारसँग भएको छलफलपछि आन्दोलनकारी समूहले प्रदर्शन फिर्ता लिने घोषणा गरेको हो।
सीजेपीले आफ्ना माग सम्बोधन भएको दाबी गर्दै समर्थकहरूलाई शान्तिपूर्ण तरिकाले घर फर्किन आग्रह गरेको छ। यसअघि प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूको रिहाइलगायत अन्य माग पूरा नभएको भन्दै आन्दोलन थप तीव्र बनेको थियो।
केही दिनदेखि जारी यस प्रदर्शनका कारण जन्तर–मन्तर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। दिल्ली प्रहरीले प्रदर्शनस्थल वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै निगरानी समेत बढाएको थियो।
उल्लेखनीय छ, सीजेपीको यो आन्दोलन शिक्षा क्षेत्रका समस्या, परीक्षा अनियमितता र सरकारको जवाफदेहितासँग जोडिएका मागहरूलाई लिएर सुरु भएको थियो। आन्दोलनमा विद्यार्थी तथा युवा समूहको उल्लेखनीय सहभागिता देखिएको थियो।
