अन्तराष्ट्रिय

बर्लिनको प्राइड कार्यक्रममा भीडमाथि गाडी दौडियो, एकको मृत्यु, १७ घाइते

By अर्जुन भट्टराई •

बर्लिनको प्राइड कार्यक्रममा भीडमाथि गाडी दौडियो, एकको मृत्यु, १७ घाइते

काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा शनिबार राति वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रमका क्रममा एउटा गाडी मानिसको भीडमा घुस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था अत्यन्त गम्भीर रहेको जनाइएको छ।

यो घटना टियरगार्टेन पार्क नजिक भएको हो। घटनापछि चालक फरार भएका छन्। घटनास्थलमा क्षतिग्रस्त अवस्थामा एउटा सेतो गाडी भेटिएपछि प्रहरीले चालकको खोजीका लागि व्यापक अभियान सञ्चालन गरेको छ।

बर्लिन प्रहरीका प्रवक्ता फ्लोरियन नाथका अनुसार सवारीसाधन टियरगार्टेन पार्कमा पसेर धेरै मानिसलाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यो घटना सुनियोजित आक्रमण थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घटनापछि ठूलो संख्यामा प्रहरी र उद्धार टोली परिचालन गरिएको थियो। बर्लिन प्रहरीले घाइते १७ जनामध्ये केहीको अवस्था जीवन–मरणको दोसाँधमा रहेको जानकारी दिएको छ। पीडितका आफन्तका लागि छुट्टै सूचना केन्द्र पनि स्थापना गरिएको छ।

घटनास्थलको निरीक्षणपछि बर्लिनका मेयर काइ वेग्नरले यस घटनाको कडा निन्दा गर्दै यसलाई बर्लिनको स्वतन्त्र, खुला र सहिष्णु समाजमाथिको आक्रमण भएको बताएका छन्। उनले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको चाँडै र कडाइका साथ अनुसन्धान हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार बर्लिनमा सहिष्णुता र विविधताको पक्षमा आयोजित यस प्राइड कार्यक्रममा लाखौं सहभागी भएका थिए। ब्रान्डेनबर्ग गेट नजिक सांगीतिक कार्यक्रमसमेत चलिरहेका बेला राति करिब १०ः१५ बजे दुर्घटना भएपछि परेड तत्काल स्थगित गरिएको थियो।

प्रहरीले सर्वसाधारणलाई टियरगार्टेन क्षेत्रबाट टाढा रहन र आपत्कालीन उद्धार कार्यमा सहयोग पुग्ने गरी घर फर्किन आग्रह गरेको छ। घटनाको कारण र चालकको उद्देश्यबारे अनुसन्धान जारी रहेको छ।

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.