नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभामा प्रतिपक्षी दलका नेता राहुल गान्धीले निट परीक्षा विवाद र विद्यार्थी आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा प्रहार गरेका छन्। उनले मोदीलाई भारतको ‘विगत’ र आन्दोलनरत विद्यार्थीहरूलाई देशको ‘भविष्य’ भनी सम्बोधन गरेका छन्।
शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा गान्धीले सरकारको सम्पूर्ण प्रणालीले युवाहरूलाई निशाना बनाइरहेको आरोप लगाए। साथै, उनले आन्दोलनरत विद्यार्थीहरूलाई आफ्नो मागबाट नडग्न आग्रह गर्दै उनीहरूको साथमा आफूहरू सधैं रहने बताए।
‘यही प्रणालीले उनीहरूमाथि आक्रमण गरिरहेको छ। मैले विद्यार्थीहरूलाई भनेको छु — नआत्तिनुहोस्। भारत सरकारका सबै शक्ति मिलेर पनि तपाईंहरूलाई त्यहाँबाट हटाउन सक्दैनन्। उनीहरू भारतको भविष्य हुन् र कसैले पनि भविष्यसँग लड्न सक्दैन। नरेन्द्र मोदी भारतको विगत हुन्, र विगतले कहिल्यै भविष्यसँग जित्न सक्दैन,’ गान्धीले भने।
उनले प्रधानमन्त्री मोदीले विद्यार्थीहरूसँग माफी माग्नुपर्ने र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई तत्काल पदबाट हटाउनुपर्ने विद्यार्थीहरूको मागप्रति आफ्नो पूर्ण समर्थन जनाए। ‘यो प्रणाली चलाउने मुख्य व्यक्ति प्रधानमन्त्री नै हुन्। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा विद्यार्थीहरूको माग हो। विद्यार्थीहरूमाथि आक्रमण भएको छ, तिनीहरूलाई अपमान गरिएको छ — यसकारण प्रधानमन्त्रीले माफी माग्नैपर्छ,’ उनले थपे।
यसैबीच, निट परीक्षामा भएको कथित अनियमितताको विरोधमा आन्दोलनरत ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिप्केले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म आन्दोलन रोकिने छैन भनी स्पष्ट पारेका छन्।
सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन तोडेपछि प्रतिक्रिया दिँदै दिप्केले उनको स्वास्थ्यप्रति खुसी र राहत व्यक्त गरे, तर आन्दोलनको मुख्य मागबाट भने पछि नहट्ने दोहोर्याए। ‘धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ। सोनम सरको जीवन देशका लागि अत्यन्त महत्त्वपूर्ण छ, उहाँले अनशन तोड्नुभएकोमा हामी राहत महसुस गरिरहेका छौं,’ उनले भने। दिप्केले थपे कि सरकारसँग हुने कुनै पनि वार्ता तटस्थ स्थानमा मात्र हुनुपर्छ र शिक्षा मन्त्रीको राजीनामाबाहेक अन्य कुनै विकल्प स्वीकार्य हुने छैन।
उल्लेखनीय छ कि सामाजिक अभियन्ता सोनम वाङचुकले निट पेपर लिक प्रकरणमा विद्यार्थीहरूको समर्थनमा गरेको २६ दिन लामो अनशन शुक्रबार अन्त्य गरेका थिए। केन्द्र सरकारले निट परीक्षा प्रणाली सुधार र प्रतिस्पर्धात्मक परीक्षाको संरचनागत सुधारका विषयमा लिखित आश्वासन दिएपछि मात्र उनले अनशन तोडेको बताएका छन्। उनका अनुसार, शुरुमा मौखिक आश्वासन मात्र दिइएकाले लिखित प्रतिबद्धता लिन दुई दिन ढिलाइ भएको थियो।
केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग करिब दुई घण्टा लामो छलफलपछि सीजेपीका प्रतिनिधिहरूले सरकारले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबारे छलफल गर्न शनिबार दिउँसोसम्म समय मागेको दाबी गरेका छन्।
