काठमाडौं । चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा रहेको संरक्षण केन्द्रका विशाल पाण्डा (जाइन्ट पाण्डा) को रुख चढ्ने अद्भुत क्षमता क्यामेरामा कैद भएको छ। हालै सार्वजनिक भएको भिडियोमा यी पाण्डाहरूले उचाइसँग कुनै डर नमानी रुखका हाँगामा सहजै हिँडडुल गरेको देख्न सकिन्छ।
चीन संरक्षण तथा अनुसन्धान केन्द्र फर द जाइन्ट पाण्डा (सीसीआरसीजीपी) ले जुन महिनामा खिचिएको यो भिडियो सार्वजनिक गरेको हो। भिडियोमा ‘छिन सियाओ’ र ‘फेङ ये’ नाम गरेका दुई विशाल पाण्डा आफ्ना लचिला शरीर र चुस्त गतिमार्फत रुखका हाँगामा सन्तुलन कायम गर्दै अघि बढिरहेको देखिन्छ।
दुई वर्ष उमेरको छिन सियाओ हाल सीसीआरसीजीपीको दुजियाङयान खण्डमा रहेको छ, भने तीन वर्षको फेङ ये याआन सहरस्थित केन्द्रको बिफेङ्सिया आधार क्षेत्रमा राखिएको छ।
भिडियोमा यी पाण्डाहरूले बाक्लो रौँ भएका पछाडिका खुट्टा हावामा हल्का रूपमा हल्लाउँदै हाँगामा सावधानीपूर्वक चढिरहेको दृश्य निकै आकर्षक छ। सामान्यतया भद्दा र सुस्त स्वभावका जनावरका रूपमा चिनिने विशाल पाण्डाको यस्तो चपलता र सन्तुलनले संरक्षणकर्मीहरूलाई समेत छक्क पारेको छ।
सीसीआरसीजीपी चीनको राष्ट्रिय सम्पदा मानिने विशाल पाण्डाको प्रजनन, संरक्षण र अनुसन्धानमा विश्वकै अग्रणी संस्थामध्ये एक हो। यस संस्थाले हाल १६ देश तथा क्षेत्रका १८ वटा चिडियाखाना, ३९ वटा घरेलु पशु प्रजनन संस्था र १० भन्दा बढी वैज्ञानिक अनुसन्धान संस्थासँग सहकार्य गर्दै पाण्डा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय साझेदारी विस्तार गरिरहेको छ।
