काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट सेभेन ए (७ए) बाट हाउस अफ डेलिगेट्सको प्राइमरी निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन्।
चापागाईंले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। जुन २३ मा सम्पन्न यस प्राइमरी निर्वाचनको ९९ प्रतिशत मतगणना पूरा हुँदा उनले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेका छन्। खसेको कुल १० हजार ४ सय २ मतमध्ये उनले २ हजार ७ सय १८ मत प्राप्त गरे।
यो जितसँगै चापागाईंले आगामी नोभेम्बरमा रिपब्लिकन उम्मेदवारहरूसँग आम निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
उनका चुनावी प्राथमिकतामा ‘अफोर्डेबल मेरिल्याण्ड, सेफ कम्युनिटिज र स्ट्रङ बिजनेस’ रहेका छन् — अर्थात् बढ्दो महँगी नियन्त्रण, सुरक्षित समाज निर्माण र स्थानीय व्यवसायलाई सशक्त बनाउने विषयहरू उनको एजेन्डाको केन्द्रमा छन्।
चापागाईं हाल डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रीय सदस्य पनि हुन्। राजनीतिका साथसाथै उनी सामाजिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा समेत सक्रिय छन्। उनी साना व्यवसायी हुनुका साथै बाल्टिमोर काउन्टी पब्लिक स्कुलमा दोभाषेका रूपमा कार्यरत छन्।
चापागाईं एनआरएनए अमेरिकामा दुई पटक मिडिया कोअर्डिनेटर भइसकेका छन् र अहिले सल्लाहकारको भूमिकामा छन्। उनी सम्पादक, कवि तथा गीतकारका रूपमा समेत परिचित छन्।
श्रमिक परिवार, कमजोर वर्ग र समुदायको आवाजलाई प्राथमिकता दिँदै सामाजिक न्यायका पक्षमा काम गर्ने उनको प्रतिबद्धता रहेको छ। अमेरिकामा नेपाली मूलका व्यक्तिहरू क्रमशः स्थानीय राजनीतिमा सक्रिय बन्दै गएको सन्दर्भमा चापागाईंको यो जितलाई नेपाली समुदायको प्रतिनिधित्वका दृष्टिले एक सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।
