चीनले उड्ने कार (फ्लाइङ कार) विकासमा तीव्र गति लिएको छ। चिनियाँ विमानन कम्पनीहरूले व्यावहारिक रूपमा प्रयोग गर्न सकिने उड्ने कार बनाउन ठूलो लगानी र श्रमशक्ति खटाइरहेका छन्।
दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार तयार गरेको छ। यस कारमा समायोजन गर्न मिल्ने सिट र बहुउद्देश्यीय सुविधाहरू राखिएका छन्। कम्पनी एरोफुगियाका प्रवक्ता ल्याङ जिओङका अनुसार यो आरामदायी कारले अधिकतम २०० किलोमिटर दूरी तय गर्न सक्छ। हाल यो कार उडानयोग्यता प्रमाणीकरण प्रक्रियामा रहेको छ।
त्यस्तै, दक्षिण चीनको ग्वाङ्झाउस्थित अर्को कम्पनीले विकास गरेको उड्ने कारले सार्वजनिक रूपमा आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरिसकेको छ। यो कार पनि हाल उडानयोग्यता प्रमाणीकरण प्रक्रियामै छ।
यस कारको अधिकतम टेकअफ तौल ९५० किलोग्राम छ भने फ्युजलाज (मुख्य शरीर) र पखेटाको फैलावट ८ मिटर छ। यसलाई सहर, समुद्र र पहाडी क्षेत्र पार गर्दै मध्यम तथा लामो दूरीको यात्राका लागि डिजाइन गरिएको हो। कारजस्तै छेउबाट खुल्ने ढोका र दुईवटा सिट भएको यस कारमा आठवटा प्रोपेलरले ठाडो रूपमा उचाल्छन् भने पछाडिको पुशर प्रोपेलरले अगाडि बढ्न आवश्यक गति प्रदान गर्छ। विशेष सुविधा के छ भने यसले भवनको छतबाटै उडान भर्न र अवतरण गर्न सक्छ।
विज्ञहरूका अनुसार आगामी करिब एक दशकभित्र उड्ने कारहरू व्यापक रूपमा प्रयोगमा आउने अपेक्षा गरिएको छ। (स्रोत: सीसीटीभीप्लस)
