अन्तराष्ट्रिय

इरानमाथि इजरायलको आक्रमणपछि ‘पूर्ण संयम’ अपनाउन इयूको आग्रह

By अर्जुन भट्टराई

एजेन्सी । इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान गरेको छ । यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।


“आक्रमण र प्रतिशोधको खतरनाक चक्रले क्षेत्रीय द्वन्द्वलाई थप विस्तार गर्ने जोखिम देखिन्छ,,” इयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा भनिएको छ, “इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार गर्दै, इयूले सबै पक्षहरूलाई द्वन्द्वको अनियन्त्रित वृद्धिबाट बच्न अत्यधिक संयम अपनाउन आह्वान गर्दछ । द्वन्द्व कसैको हितमा छैन।”

इजरायली सेनाले इरानको क्षेप्यास्त्र कारखाना र विभिन्न क्षेत्रमा रहेका सैन्य शिविरमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु भएपछि इरानले आफ्नो प्रतिरक्षा गर्ने चेतावनी दिएको छ । अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले गरेको आक्रमणको प्रतिक्रियामा पुनः आक्रमण गरेमा इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी इजरायलले दिएको छ ।

इयूले ’गम्भीर र बढ्दो क्षेत्रीय तनाव’ का बीच आक्रमण भएको भन्दै शान्त रहन आग्रह गरेको छ । ‘ईयू तनाव कम गर्न वा तनाव कम गर्ने उपायबारे योगदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छ र यसका लागि सबै सम्बन्धित पक्षहरूसँग घनिष्ठ सम्पर्कमा रहेको छ,” २७ राष्ट्र संलग्न सङ्गठनले भनेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.