अन्तराष्ट्रिय

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

By अर्जुन भट्टराई

सोल । उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेको  सरकारी सञ्चारमाध्यमले  बताएका छन् । प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण हो ।


धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घले त्यस्तो कुनै पनि कदमलाई प्रतिबन्ध लगाएको छ । आणविक हतियारसम्पन्न उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण र उत्पादन बढाउन सक्ने विश्लेषकहरूले बताएका छन् ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी केसएनएका अनुसार प्योङयाङको नयाँ रक्षा उद्योग एकाइमा बनाइएका ‘मल्टिपल रकेट लन्चरको २४० एमएम शेल’ को ‘उडान सुविधिाहरू र हिट तथा एकाग्रता सूचकहरू’ परीक्षणका क्रममा ‘अत्यन्त सन्तोषजक ढङ्गले मूल्याङ्कन’ गरिएको थियो ।

नेता किमले यस वर्षका लागि युद्ध सामग्री उत्पादन योजनालाई निश्चितरूपमा गुणात्मक ढङ्गले पूरा गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको केसिएनएले बताएको छ । “नयाँ प्रविधिसहितको रकेट लन्चरले उत्तर कोरियाको सेनाको आर्टरी बललाई बलियो बनाउन रणनीतिक परिवर्तन ल्याउने छ”, किमको भनाइ उद्धृत गर्दै केसिएनले भनेको छ ।

यसै साताको प्रारम्भमा किमले मुलुकको पहिलो ‘आणविक ट्रिगर’ अभ्यासको निरीक्षण गर्नुभएको प्योङयाङले बताएको छ । यसमा दुश्मनहरूलाई चेतावनीका रूपमा आणविक जवाफी हमलाको अनुकरण सामेल थियो ।

सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले शुक्रबारको घोषणाका आधारमा उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी क्षेत्रलाई लक्षित गरी सटीक आक्रमणका लागि मार्गदर्शन प्रविधिलाई एकीकृत गर्न ‘केही प्रगति’ हासिल गरेको जस्तो देखिएको जानकारी दिए । “सम्पूर्ण मुलुक मिसाइल रक्षा उद्योग प्रदर्शनी जस्तो देखिन्छ”, उनले भने ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.