खेलकुद

रियल म्याड्रिडलाई हराउँदै म्यान्चेस्टर सिटी फाइनलमा 

By अर्जुन भट्टराई

इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ५-१ गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो।

अघिल्लो साता भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिँदा बुधबार अबेर राति भएको दोस्रो लेगमा सिटी ४-० गोलले विजयी भयो।

घरेलु मैदानमा सिटीले १४ पटकको युरोपियन च्याम्पियन रियलविरूद्ध पहिलो हाफमा २-० गोलको अग्रता बनाएको थियो।

सिटीका लागि सुरुवाती दुवै गोल बेर्नान्डो सिल्भाले गरे। सिल्भाले २३ मिनेटमा केभिन डि ब्रुएनको पासमा गोल गर्दै सिटीले अग्रता दिलाए। सिल्भाले ३७ मिनेटमा अग्रता दोब्बर पारे।

७६ मिनेटमा रियलका मिलिटाओले आत्मघाती गोल गरेपछि सिटी ३-० ले अघि बढेको थियो।

दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा अल्भारेजले सिटीका लागि चौथो गोल गरे। उनले फिल फोडेनका पासमा गोल गर्न सफल भए।

च्याम्पियन्स लिगको फाइनलमा दोस्रो पटक पुगेको सिटीले अब उपाधिका लागि १० जुनमा टर्कीको इस्तानबुलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ। सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा हुनेछ।

इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी अब प्रिमियर लिग तथा इंग्लिस एफए कपको उपाधि नजिक छ।

सिटी प्रिमियर लिग उपाधिबाट एक जित टाढा छ। सिटी पछिल्लो ६ वर्षमा पाँचौ पटक इंग्लिस च्याम्पियन हुँदैछ। सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ। 

तीन उपाधिका साथ सिटी ट्रेबल जित्ने अभियानमा छ। तीनै उपाधि जित्न सफल भए सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ। यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो। 

सिटीले यसअघि दुई सेमिफाइनलमा रियलसँग हारेको थियो। तर यसपटक सिटीले कुनै गल्ति गरेन। घरेलु मैदानमा च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियलविरुद्ध हाबी भयो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.