काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन सेवाको गम्भीर समस्या रहेकाले सञ्चारमन्त्री डा. तिमिल्सिनाले यस विषयमा विशेष चासो देखाउँदै त्यहाँ सकेसम्म चाँडो सेवा पुर्याउन आदेश दिएका हुन्। सडक सञ्जालबाट सामान ढुवानी गर्न नसकिने अवस्था रहेकाले हेलिकप्टरमार्फत सामान पुर्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल टेलिकमले साउन महिनाभित्रै टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। टेलिकमका अनुसार टावर निर्माणका लागि आवश्यक सामान धनगढी, कैलालीसम्म पुगिसकेको छ र नेपाली सेनाको हेलिकप्टर उपलब्ध भएमा काम झनै छिटो हुन सक्ने छ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले शुक्रबार नै प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गरे। उक्त छलफलमा बडीमालिकालगायत पर्यटकीय र दुर्गम क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तारका साथै अनलाइन सट्टेबाजी (बेटिङ) एप बन्द गर्ने र अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि कुराकानी भयो।
सञ्चारमन्त्रीले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्कासँग पनि कुराकानी गरी त्यहाँ कुन–कुन ठाउँमा कस्तो पूर्वाधार आवश्यक छ र सडक सञ्जालको अवस्था कस्तो छ भन्ने जानकारी लिए।
नेपाल टेलिकमले समुद्री सतहबाट ४,२०० मिटर उचाइमा रहेको बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा फोरजी सेवा सुरु गर्ने लक्ष्य राखेको छ। साथै, सगरमाथा आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको छ।
यसअघि नै डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान र ठूलीभेरी नगरपालिका–१ को दुनै क्षेत्रमा करिब ३,९०० मिटर उचाइमा फोरजी सेवा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ। त्यसैगरी ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा ३,४०० मिटर उचाइमा पनि फोरजी सेवा सुरु भइसकेको छ।
देशभर थप करिब १,६०० नयाँ टेलिफोन टावर र सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा मात्रै करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने योजना बनाएको छ। देशका सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने र डिजिटल विभाजन घटाउने लक्ष्यसहित सञ्चार मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग निरन्तर समन्वय गर्दै काम गरिरहेको छ।
