काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपाली भएर शिर उचो गरी गौरवका साथ उभिन सकिएको बताएका छन्।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने उल्लेख गरे।
उनले भने, ‘हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु।’
राष्ट्रपति पौडेलले वीर पुर्खाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लागि गरेको बलिदान र पुर्याएको योगदान अत्यन्त स्तुत्य रहेको बताए। साथै, आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको आस्था र प्रतिबद्धतामा कहिल्यै विचलित नहुन उनले स्पष्ट पारे।
उनले थपे, ‘यही एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावना जागृत गर्दै अघि बढ्नुपर्दछ। हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।’
राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वका धनी भीमसेन थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको र देशभक्ति नै उनको मूलमन्त्र रहेको उल्लेख गरे। उनले भने, ‘अङ्ग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको राष्ट्रभक्तिकै अडानले नेपाल स्वतन्त्र रहन सक्यो।’
