काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदका स्वकीय सचिवको नियुक्ति, तलब, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गरेको छ। यस मार्गदर्शनमार्फत पार्टीले आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाएको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचनामा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्णतः निषेध गरिएको छ। साथै, पारिश्रमिक सिधै स्वकीय सचिवकै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउन सांसदहरूलाई निर्देशन दिइएको छ।
आचार्यका अनुसार नियुक्त स्वकीय सचिवको बायोडाटा र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संघीय संसद् सचिवालय र पार्टीको केन्द्रीय कार्यालयमा समयमै दर्ता गराउनु अनिवार्य छ।
सांसदले स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी आवधिक प्रतिवेदन संसदीय दलमा पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। स्वकीय सचिवले सांसदको कामकारबाही, पार्टीका आन्तरिक सूचना तथा संसद्का संवेदनशील विषयमा कडा गोपनीयता कायम राख्नुपर्नेछ।
रास्वपाले राज्यकोषबाट उपलब्ध सुविधा जनताको करको पैसाबाट आउने भएकाले सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रदर्शन गर्नुपर्ने जोड दिएको छ।
सूचनामा नातेदार नियुक्त गर्ने, कागजमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने वा आर्थिक हिनामिना गर्ने कार्यलाई गम्भीर उल्लङ्घन मानिने स्पष्ट पारिएको छ। यस्तो अवस्थामा पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत तत्काल कारबाही अघि बढाइनेछ।
स्वकीय सचिवको कार्यसम्पादन सन्तोषजनक नभएमा, पदीय आचरणविपरीत काम गरेमा वा गोपनीयता भंग गरेमा सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराई जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था छ।
पार्टीले स्वकीय सचिव नियुक्तिका लागि साझा, आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा तयार गर्ने जनाएको छ, जसमा योग्यता, कार्यविवरण र आवेदन प्रक्रिया स्पष्ट उल्लेख हुनेछ। सबै सांसदले नयाँ नियुक्तिका लागि अनिवार्य रूपमा सोही ढाँचा प्रयोग गर्नुपर्नेछ। थप सहयोग वा परामर्शका लागि संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतकसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
