राजनिती

राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल

By अर्जुन भट्टराई •

राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र तथा संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि गम्भीर चुनौतीहरू देखिएको बताएका छन्।

बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा उनले भने, ‘राष्ट्रको स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित र जनताको उपलब्धिको रक्षा गर्दै सहि क्रान्तिकारी कार्यदिशाका आधारमा नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनु जरुरी छ।’

खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेताका रूपमा स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि स्पष्ट वैचारिक मार्गनिर्देशन दिएको बताए। पुष्पलालकै मार्गदर्शनअनुसार नेपालमा जनवादी क्रान्ति सफल भएको, संविधानसभामार्फत संविधान निर्माण भएको तथा समाजवादी रूपान्तरणको आधार तयार भएको उनको दाबी छ।

उनले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता भएको जोड दिए। ‘राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय र समृद्धिका लागि सबै वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु आवश्यक छ,’ उनले भने।

खनालले पुष्पलालको ऐतिहासिक योगदानकै कारण नेपाली कम्युनिष्ट आन्दोलन आजको उचाइमा पुगेको उल्लेख गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.