राजनिती

बीपी कोइरालाको ४४औँ स्मृति दिवस: देशभर श्रद्धाञ्जलि कार्यक्रम, काठमाडौंमा ‘ग्रिन रन’

By अर्जुन भट्टराई •

बीपी कोइरालाको ४४औँ स्मृति दिवस: देशभर श्रद्धाञ्जलि कार्यक्रम, काठमाडौंमा ‘ग्रिन रन’

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

वि.सं. २०३९ साउन ६ गते ६८ वर्षको उमेरमा दिवंगत भएका बीपी कोइरालालाई नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताका रूपमा सम्झिइन्छ।

वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री रहँदा उनले बिर्ता उन्मूलन तथा ‘जमिन जोत्नेको’ भन्ने ऐतिहासिक भूमिसुधार कार्यक्रम लागू गरेका थिए। प्रजातन्त्र, राष्ट्रियता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका हिमायती बीपीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई नयाँ दिशा दिएका थिए। राजनीतिका साथसाथै साहित्य क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान रहेको मानिन्छ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, यसका भ्रातृ तथा शुभेच्छुक संस्थालगायत विभिन्न संघसंस्थाले देशभर विचार गोष्ठी, श्रद्धाञ्जलि सभा, पुष्पाञ्जलि तथा स्मरण कार्यक्रम आयोजना गरेका छन्।

यसवर्ष नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ। आज बिहान आयोजित यस कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापालगायत नेता–कार्यकर्ताहरू सहभागी भएका थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.