काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको बताउँदै नेतृत्वले समयमै यो कुरा नबुझे कुनै पनि बेला विस्फोट हुन सक्ने गम्भीर चेतावनी दिएका छन्।
मंगलबार आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले यो बात राखे। कार्यक्रममा गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ नामक दुई पुस्तक सार्वजनिक गरिएका थिए।
थापाले भने, ‘गुरु घिमिरेले विश्वप्रकाश शर्मा र गगन थापालाई लेख्नुभएको खुल्ला पत्रमा कुण्ठा छैन, त्यहाँ प्रेम छ, करुणा छ र रचनात्मक आलोचना छ।’ उनले थपे, ‘पार्टीभित्रको अन्तरविरोध र राजनीतिक खिचातानी नदीका दुई किनाराजस्तो देखिए पनि त्यो लेखमा कहीँ कुण्ठा भेटिँदैन।’
सभापति थापाले घिमिरेको लेखनले आलोचना र निन्दाबीचको स्पष्ट भिन्नता देखाएको बताउँदै उनको व्यक्तित्वको प्रशंसा गरे। उनले भने, ‘जिम्मेवारीमा बसेका मानिसप्रति प्रश्न उठ्नु स्वाभाविक हो।’
पुस्तकहरूबारे थापाले भने, ‘सरसर्ती हेर्दा यी समसामयिक राजनीतिक टिप्पणीजस्ता लाग्छन्, तर यसमा राजनीतिको विकृतिले लेखकलाई दिएको गहिरो पीडा देख्छु। विकृतिले समाजमा तीव्र असन्तुष्टि ल्याएको छ। यही असन्तुष्टिले परिवर्तनको अपरिहार्यता स्थापित गर्यो, तर नेतृत्वले त्यसलाई बुझ्न सकेको छैन। त्यसकारण कुनै पनि बेला विस्फोट हुन सक्छ।’
कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री बीपी कोइरालाको साहित्यिक योगदानको चर्चा गरे। उनले भने, ‘राजा महेन्द्रले थुनेको जेलको चार पर्खालभित्र बसेर पनि बीपीले सुम्निमा र नरेन्द्र दाइ जस्ता महान् कृतिहरू रचे। उहाँभित्रको सिर्जनशीलता जेलले पनि मार्न सकेन।’ शर्माले बुद्ध र बीपीको त्यागलाई आजको राजनीतिसँग जोडेर हेर्नुपर्ने बताए।
पुस्तकका लेखक गुरुराज घिमिरेले मुलुक गलत दिशातर्फ अघि बढिरहेको चिन्ताले आफूलाई यी लेखहरू लेख्न बाध्य बनाएको बताए। उनले भने, ‘सरकार र पार्टी सञ्चालनमा देखिएका विकृति नरोकिएकाले यी लेख लेख्नुपर्यो। दुर्भाग्यवश मुलुक गलत दिशातर्फ जाने गति रोकिएन।’
