राजनिती

राजनीतिक विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापाको चेतावनी

By अर्जुन भट्टराई •

राजनीतिक विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएका विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको बताउँदै नेतृत्वले यसलाई समयमै नबुझे कुनै पनि बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्।

मंगलबार आयोजित एक पुस्तक सार्वजनिक कार्यक्रममा उनले यस्तो बताए। कार्यक्रममा गुरुराज घिमिरेका दुई पुस्तक — ‘बुद्ध, बीपी र आजका नेता’ र ‘लिलिपुटका लघुमानव’ — सार्वजनिक गरिए।

थापाले भने, “‘बुद्ध, बीपी र आजका नेता’ र ‘लिलिपुटका लघुमानव’ सरसर्ती हेर्दा समसामयिक राजनीतिक टिप्पणीजस्ता लाग्छन्। तर मैले यसमा राजनीतिमा आएको विकृतिले लेखकलाई गहिरो पीडा दिएको देख्छु। विकृतिले समाजमा तीव्र असन्तुष्टि ल्याएको छ। यही असन्तुष्टिले परिवर्तनको अपरिहार्यता स्थापित गर्यो, तर नेतृत्वले त्यसलाई बुझ्न सकेको छैन। त्यस कारण कुनै पनि बेला विस्फोट हुन सक्छ।”

कार्यक्रममा घिमिरेले आफू र कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालाई लेखेको खुला पत्रको सन्दर्भमा बोल्दै थापाले त्यस पत्रमा कुण्ठाभन्दा प्रेम, करुणा र रचनात्मक आलोचना रहेको बताए। उनले भने, “त्यो लेखमा कहीँ पनि कुण्ठा भेटिँदैन। त्यहाँ भावना छ, प्रेम छ, करुणा छ, आलोचना छ — तर निन्दा छैन। यही गुरु घिमिरेको चरित्र हो।”

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री बीपी कोइरालाको साहित्यिक योगदानको चर्चा गर्दै भने, “राजा महेन्द्रले थुनेको जेलका चार पर्खालभित्र बसेर पनि ‘सुम्निमा’ र ‘नरेन्द्र दाइ’ जस्ता कालजयी कृतिहरू जन्मिए। बीपीभित्रको सिर्जनशीलता जेलले पनि मार्न सकेन।” उनले बुद्ध र बीपीको त्यागलाई आजको राजनीतिसँग जोडेर हेर्नुपर्ने बताए।

पुस्तकका लेखक गुरुराज घिमिरेले भने, “सरकार, पार्टी सञ्चालन र नेपाली समाजमा देखिएका विकृतिबारे यस्ता लेख लेख्नुपर्ने अवस्था आउने थिएन। तर दुर्भाग्यवश मुलुक गलत दिशातर्फ अघि बढ्ने गति रोकिएन। त्यसैले यी लेखहरू लेख्नुपर्यो।”

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.