काठमाडौं। सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूको सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको समितिको बैठकमा सिफारिस भएका उम्मेदवारविरुद्ध परेका उजुरी खोल्ने र वितरण गर्ने, उनीहरूले पेस गरेका कार्ययोजना अध्ययन गर्ने तथा सुनुवाइको कार्यतालिका तय गर्ने विषयमा छलफल भयो।
समिति सभापति बोधनारायण श्रेष्ठले बैठकको निष्कर्ष सुनाउँदै भने, ‘कार्ययोजना र उजुरीहरूको अध्ययन गर्ने, उम्मेदवारहरूलाई प्रस्तुतिका लागि आमन्त्रण गर्ने, साउन १२ गते दुई जना निर्वाचन आयुक्तहरूलाई र १३ गते प्रमुख निर्वाचन आयुक्तलाई बोलाउने निर्णय गरेका छौँ। बिहान ११ः१५ बजेबाट सुनुवाइ सुरु हुनेछ।’
समितिले सिफारिस भएका उम्मेदवारमाथि परेका उजुरी, उनीहरूको कार्ययोजना र आवश्यक छलफलका आधारमा संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने जनाएको छ।
