खेलकुद

फिफाको कारबाहीको जोखिममा अर्जेन्टिना, लो सेल्सोले गरे राजनीतिक ब्यानर प्रदर्शन

By अर्जुन भट्टराई

फिफाको कारबाहीको जोखिममा अर्जेन्टिना, लो सेल्सोले गरे राजनीतिक ब्यानर प्रदर्शन

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सोले राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेका कारण उनी र अर्जेन्टिनाको राष्ट्रिय टोलीमाथि फिफाले कारबाही गर्न सक्ने सम्भावना बढेको छ।

द एथलेटिकका अनुसार अमेरिकाको एटलान्टामा भएको खेलपछि लो सेल्सोले ‘माल्भिनास अर्थात फकल्याण्ड अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर थाम्दै प्रदर्शन गरे। डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर केहीबेर त्यो ब्यानर समातेपछि उनले मैदानमै राखिदिए। फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गर्छ। दक्षिण-पश्चिम एटलान्टिक महासागरमा रहेको यो टापु हाल बेलायतको विदेशी भूभाग हो। यसको सार्वभौमिकतालाई लिएर अर्जेन्टिना र बेलायतबीच दशकौँदेखि विवाद चल्दै आएको छ। सन् १९८२ मा यही टापुको नियन्त्रणका लागि दुई देशबीच युद्धसमेत भएको थियो। करिब दुई महिना चलेको उक्त युद्धमा बेलायत विजयी भयो र दुवै पक्षका सयौँ सैनिकको ज्यान गयो।

अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड र फिफाको नियमअनुसार खेलका क्रममा वा सोसँग सम्बन्धित गतिविधिमा राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश, नारा, झण्डा वा प्रतीक प्रदर्शन गर्न निषेध छ। नियम उल्लङ्घन भएमा सम्बन्धित खेलाडी, टोली वा राष्ट्रिय फुटबल संघलाई प्रतियोगिता आयोजक वा फिफाले कारबाही गर्न सक्छ।

यसैबीच अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समार्फत लो सेल्सोको समर्थन गर्दै लेखिन्— ‘फकल्याण्ड अर्जेन्टिनाकै हो। उनीहरूले ब्यानर स्टेडियममा लैजान रोक लगाए, तर त्यो हाम्रो रगत र हृदयमा छ।’

मैदानमा भने अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलमा प्रवेश गर्‍यो। इंग्ल्यान्डका एन्थोनी गोर्डनले ५५औँ मिनेटमा गोल गरी अग्रता लिएका थिए। त्यसपछि अर्जेन्टिनाका एन्जो फर्नान्डेजले ८५औँ मिनेटमा बराबरी गोल फर्काए। इन्जुरी समयमा कप्तान लियोनेल मेसीको उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए।

अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग र तेस्रो स्थानका लागि इंग्ल्यान्डले फ्रान्ससँग खेल्नेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.