राजनिती

होटल व्यवसायीको चिन्ता अब सकिन्छ : प्रधानमन्त्री शाह

By अर्जुन भट्टराई

होटल व्यवसायीको चिन्ता अब सकिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम अघि बढिसकेकाले होटल व्यवसायीहरूको चिन्ता अब अन्त्य हुने विश्वास दिलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग विशेष छलफल भयो। उक्त बैठकमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न प्रोत्साहन दिए।

प्रधानमन्त्रीले हानका पदाधिकारीहरूलाई तीन महत्त्वपूर्ण अनुरोध गरे — कानुनको पालना गर्दै व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गराई करको दायरामा ल्याउन, र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल पनि उपस्थित रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराए। हाल वार्षिक १२ लाख मात्र पर्यटक नेपाल भित्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढ्दै गएमा आन्तरिक रोजगारीमा ठूलो वृद्धि हुने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योगले बलियो भूमिका खेल्न सक्ने बताए।

छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.