काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने कडा माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले भनिन् — गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहको पीडा अझै ताजै छँदै रौतहटका २८ वर्षीय गौतमकुमार सहनीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको खबर आएको छ। यी घटनाहरू बेरोजगारी र निराशामा डुबेका युवाहरूको व्यथाको प्रतिबिम्ब हुन्।
उनले भनिन्, ‘रोजगार दिने घोषणा गर्ने सरकारले बेरोजगार भएर निसास्सिएका युवाहरूमा आशासमेत जगाउन सकेन। दिनप्रतिदिन मृत्युवरणका घटनाहरू बढिरहेका छन्। यो सरकारप्रतिको निराशाको अभिव्यक्ति हो। सरकारले यस्ता घटना रोक्न तुरुन्तै प्रभावकारी कदम चालोस्।’
सांसद शर्माले बागलुङको धोरपाटन नगरपालिका–२ सालमकोटमा मावली घरको आँगनमा खेलिरहेका बेला पर्खाल भत्किँदा पाँच वर्षीय आशीष भण्डारीको घटनास्थलमै मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्। उनले मृतक बालकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरिन्।
त्यसैगरी बागलुङकै काठेखोला गाउँपालिका–७ र ८ को सिमानास्थित रेसाखोलामा खोलो तर्ने क्रममा गुल्मीको मिसीकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएको जानकारी दिँदै खोजी कार्य थप तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग आग्रह गरिन्।
सांसद शर्माले सिंहदरबार परिसरमा अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलनमा रहेको पनि उल्लेख गरिन्। तीनै तहका सरकारअन्तर्गत कार्यरत करिब ५० हजार कर्मचारी रोजगारी गुमाउने अवस्थामा पुग्न नदिन सरकारको ध्यानाकर्षण गराउँदै १० देखि २५ वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न उनले आग्रह गरिन्।
साथै, काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिन थालेकोमा चिन्ता व्यक्त गर्दै रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने मागसमेत उनले गरिन्।
