राजनिती

आत्मदाहका घटनाप्रति चिन्तित रास्वपा सांसद खनालले मागे मानसिक स्वास्थ्य परिषद् गठन

By अर्जुन भट्टराई •

आत्मदाहका घटनाप्रति चिन्तित रास्वपा सांसद खनालले मागे मानसिक स्वास्थ्य परिषद् गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले देशमा बढ्दो आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राखेर नयाँ नीति बनाउन सरकारसँग आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले भने, ‘पछिल्लो समय आत्मदाहका अप्रिय घटना घटिरहेका छन्। यसले मलाई गहिरो चिन्तित बनाएको छ। अब हामीले मानसिक स्वास्थ्यको विषयमा गहिरो चिन्तन र व्यापक छलफल गर्ने समय आएको छ।’

उनले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि मानसिक स्वास्थ्यमा अपेक्षित काम हुन नसकेको बताए। बढ्दो डिप्रेसन, चिन्ता र आत्मदाहका घटनाले समाजलाई थप संवेदनशील बनाएको उनको भनाइ थियो।

सांसद खनालले मानसिक स्वास्थ्य सेवा अहिले पनि सीमित, असमान र राजधानीकेन्द्रित रहेकाले देशभरका नागरिकले सहजै सेवा पाउन नसकेको टिप्पणी गरे। उनका अनुसार मानसिक स्वास्थ्य केवल रोगसँग मात्र जोडिएको विषय होइन, यो जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षको सन्तुलनसँग सम्बन्धित भएकाले यसलाई समग्र दृष्टिकोणबाट सम्बोधन गर्नु जरुरी छ।

मानसिक स्वास्थ्यसम्बन्धी नीतिमा समयानुकूल सुधार गर्दै नयाँ नीति निर्माण गर्नुपर्ने औँल्याउँदै उनले यस क्षेत्रमा संस्थागत सुधार अघि बढाउन पनि सरकारलाई आग्रह गरे।

सांसद खनालले मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ‘मेन्टल हेल्थ काउन्सिल’ अर्थात् मानसिक स्वास्थ्य परिषद् स्थापना गर्न सरकारसँग माग राखे। उनले भने, ‘नेपालमा मानसिक स्वास्थ्य परिषद् गठन गरियोस्। योग्य र दक्ष मनोवैज्ञानिकको सहभागितामा मानसिक स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन र व्यवस्थापन हुने संयन्त्र निर्माण गर्न आवश्यक छ।’

उनले सरकारका साथै प्रतिपक्षी दलहरूलाई पनि मानसिक स्वास्थ्यलाई साझा राष्ट्रिय एजेन्डाका रूपमा लिएर आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सहयोग गर्न आग्रह गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.