विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिष्ठान गठनपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, ‘प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्नेछ।’ उनले कानुनले दिएको अधिकार र जिम्मेवारीभित्र रहेर सञ्चार क्षेत्रलाई थप सुव्यवस्थित बनाइने पनि स्पष्ट पारे।
कोशी प्रदेश सरकारले सोमबार आमसञ्चार सम्बन्धी ऐन, २०८२ अनुसार यो प्रतिष्ठान गठन गरेको हो। अध्यक्षमा दाहाल नियुक्त भएका छन् भने प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई नियुक्त भएका छन्।
प्रतिष्ठानका सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) रहेका छन्।
प्रदेश प्रेस रजिस्ट्रार भट्टराईका अनुसार प्रतिष्ठान गठन भएलगत्तै रेडियो तथा टेलिभिजनको नवीकरण प्रक्रिया सुरु भइसकेको छ। हाल १०० वाटदेखि एक हजार वाट क्षमतासम्मका रेडियो तथा टेलिभिजनको नवीकरण भइरहेको छ। उनले प्रदेश सरकारको अधिकारक्षेत्रभित्र पर्ने सबै सञ्चार माध्यमलाई असार मसान्तभित्र नवीकरण गर्न आग्रह गरे। साथै, आगामी आर्थिक वर्षदेखि नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।
यो प्रतिष्ठानले प्रदेशभित्र सञ्चालनमा रहेका आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन र अभिलेखीकरणको जिम्मेवारी निर्वाह गर्नेछ। स्वतन्त्र, मर्यादित र जिम्मेवार पत्रकारिताको विकास तथा सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा पनि प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
