खेलकुद

यामाल बोले : फ्रान्सविरुद्धको सेमिफाइनल मेरो करिअरकै सबैभन्दा महत्वपूर्ण खेल हो

By अर्जुन भट्टराई

यामाल बोले : फ्रान्सविरुद्धको सेमिफाइनल मेरो करिअरकै सबैभन्दा महत्वपूर्ण खेल हो

स्पेनका युवा स्टार लामिन यामालले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलअघि आफूमाथि कुनै दबाब नभएको बताएका छन्। मंगलबार डलास स्टेडियममा फ्रान्ससँग हुने यो खेललाई उनले आफ्नो करिअरकै सबैभन्दा ठूलो चुनौती र महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

फिफाका अनुसार, खेलअघिको पत्रकार सम्मेलनमा यामालले भने, ‘हामी कठिन परिस्थितिसँग कसरी जुध्ने भन्ने राम्रोसँग जान्दछौं। दबाबको कुरा गर्दा, म कुनै दबाब महसुस गर्दिनँ।’

बार्सिलोनाका फरवार्ड यामालले पछिल्ला खेलहरूमा आफ्नो प्रदर्शनबारे भइरहेको आलोचनालाई स्वीकार गर्दै भने, ‘तपाईंहरू आफैं भन्नुहुन्छ कि म अहिले उत्कृष्ट लयमा छैन। त्यसैले मबाट धेरै अपेक्षा नगर्नुहोस्। तर म विश्वस्त छु, यो दिन विशेष हुनेछ। यो मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण खेल हुनेछ। हामी सबै उत्साहित छौं, र म सबैभन्दा बढी उत्साहित छु।’

स्पेन सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेपछि पहिलो पटक फिफा विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ। उता फ्रान्स सन् २०१८ मा विश्वकप जितेपछि र २०२२ मा उपविजेता बनेपछि लगातार तेस्रो पटक फाइनलमा पुग्ने प्रयासमा छ।

स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले यामालको शान्त मानसिकताको प्रशंसा गर्दै टोलीले प्रतियोगिताभर जिम्मेवारी र खेलको आनन्दबीच राम्रो सन्तुलन कायम राखेको बताए। सन् २०१० को विश्वकप विजयको भावना सम्झिँदै उनले मुस्कुराउँदै भने, ‘म धेरै भावुक स्वभावको मान्छे हुँ। मलाई जुलियो इग्लेसियास मन पर्छ। त्यसैले म कसरी रोमान्टिक नहुने?’

युरोपियन च्याम्पियन स्पेन यस प्रतियोगितामा क्रमशः बलियो बन्दै आएको छ। समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेले पनि त्यसपछि समूह ‘एच’ को शीर्ष टोली बन्दै नकआउट चरणमा अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पराजित गर्यो। पछिल्ला दुई नकआउट खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

मार्च २०२४ यता स्पेनले नियमित समयमा लगातार ३६ खेलसम्म हार बेहोरेको छैन। फ्रान्सविरुद्ध पनि नियमित समयमा अपराजित रहे भने स्पेनले इटालीको लगातार ३७ खेल अपराजित रहने सर्वकालीन कीर्तिमान बराबरी गर्नेछ।

उता फ्रान्स पनि उत्कृष्ट लयमा सेमिफाइनलमा आइपुगेको छ। डिडिएर डेसच्याम्प्सको टोलीले समूह चरणका तीनवटै खेल जित्यो र नकआउट चरणमा स्विडेन, पाराग्वे र मोरोक्कोलाई कुनै गोल नखाई पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। यस खेलसँगै डेसच्याम्प्सले फ्रान्सका प्रशिक्षकका रूपमा आफ्नो कीर्तिमानी २६औँ फिफा विश्वकप खेलको नेतृत्व गर्नेछन्।

दुवै टोलीबीचको प्रतिस्पर्धात्मक इतिहास हेर्दा ३८ भेटमध्ये स्पेनले १८ खेल जितेको छ भने पछिल्ला १० भेटमध्ये सात खेलमा स्पेन नै विजयी रहेको छ। यसमा यूईएफए युरो २०२४ को सेमिफाइनल र २०२५ यूईएफए नेसन्स लिग फाइनल्सको सेमिफाइनलमा प्राप्त जित पनि समावेश छन्। (एएनआई)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.