काठमाडौं । विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्ट उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन वटा संस्थासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
आज प्राधिकरणमा आयोजित कार्यक्रममा वायुसेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) सँग छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो।
वायुसेवा संचालक संघ नेपालसँगको समझदारी अनुसार काठमाडौं उपत्यकाभित्र उडान आवश्यक परेमा निःशुल्क सेवा दिइनेछ भने उपत्यका बाहिर उडान गर्नुपरेमा न्यूनतम सञ्चालन खर्चमा मात्र सेवा उपलब्ध गराइनेछ।
नेपाल ड्रोन संघसँगको समझदारी अनुसार विपद्को समयमा ड्रोन आवश्यक भएमा पाइलटसहित ड्रोन र सम्बन्धित उपकरण निःशुल्क उपलब्ध गराइनेछ। सो काममा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले नै गर्नेछ।
नाराসँगको समझदारी अनुसार बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका कार्यका लागि जनशक्तिसहित राफ्ट र सम्बन्धित उपकरण निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
यी सबै समझदारी पत्र एक वर्षसम्म लागू रहनेछन् र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य र समन्वय अत्यन्त जरुरी हुने बताए। सबैको सामूहिक प्रयासबाट मात्रै विपद् पार लगाउन सकिने भन्दै उनले निजी क्षेत्रको सेवाभावप्रति आभार व्यक्त गरे।
वायुसेवा संचालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको ज्यान तथा सम्पत्तिको सुरक्षाका लागि आफूहरू सकेसम्म सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव फणिन्द्र प्रसाद पौडेलका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधिहरू पनि उपस्थित थिए।
