राजनिती

आत्मदाहका घटना बढ्दो, सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद रिमा विश्वकर्मा

By अर्जुन भट्टराई •

आत्मदाहका घटना बढ्दो, सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद रिमा विश्वकर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग राखिन्।

‘देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएका छन्। यी घटनाहरूले नागरिकको मानसिक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गरेका छन्,’ उनले भनिन्।

सांसद विश्वकर्माले नीति सुधारको नाममा सरकारले हतारमा निर्णय गरिरहेको त होइन भनी प्रश्न उठाइन्। कानुन निर्माण गर्दा त्यसको प्रत्यक्ष असर नागरिकमाथि परिरहेको हुन सक्ने भन्दै उनले सरकारलाई संवेदनशील बन्न आग्रह गरिन्।

‘नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतारमा त छैन? जसका लागि कानुन बनाउँदैछौँ, कतै उनीहरू कुनै पीडामा त परिरहेका छैनन्? के साँच्चै नागरिकले आफ्नो पीडा सुनाउन र न्याय पाउन यस्तो आत्मघाती कदम चाल्नुपर्ने अवस्था आएको हो?’ उनले प्रश्न गरिन्।

सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब मानसिक स्वास्थ्यलाई पनि राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन्। ‘राजनीतिक दायित्वसँगै हामीले सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशीलताका साथ आत्मसात गर्न जरुरी छ,’ उनले थपिन्।

सांसद विश्वकर्माले आफ्नो सम्बोधनको अन्त्यमा हालैका घटनामा ज्यान गुमाएका गणेश नेपाली, विवेश मण्डल र अस्विन राउतप्रति श्रद्धाञ्जली पनि व्यक्त गरिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.