काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ अगाडि बढिरहेको चेतावनी दिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको र युवादेखि व्यवसायी तथा विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको बताए।
उनले भने, ‘आज हाम्रो राज्य संकटमा छ। जनतामा निराशा छ। यो देशमा बाँच्न सकिँदैन, केही गर्न सकिँदैन भन्ने भाष्य यस संसदबाट कम्तीमा नबनाऔं।’
सिंहले देशका वर्तमान समस्या समाधानका लागि सबै राजनीतिक शक्तिहरू जिम्मेवार बन्नुपर्ने बताए। राज्य, जनता र लोकतन्त्र सुरक्षित रहेमा मात्र राजनीति निरन्तर चल्न सक्ने उनको भनाइ थियो।
‘आज सत्तापक्षमा हुनेहरू भोलि प्रतिपक्षमा हुन सक्छन्। को आयो, को गयो भन्ने कुरा राजनीतिमा स्वाभाविक हो। तर राज्य, जनता र लोकतन्त्र नै संकटमा परे हामीमध्ये कोही पनि रहने छैनौं,’ उनले भने।
यसैक्रममा सांसद सिंहले मंगलबार राति करिब २ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा विवेक मण्डलको निधन भएकोमा गहिरो दुःख व्यक्त गरे। उनले यही साताभित्र आत्मदाहका घटनामा ज्यान गुमाएका गणेश नेपाली, अश्विन राउत र विवेक मण्डललाई श्रद्धाञ्जली अर्पण गर्दै यस्ता दुःखद घटनाहरूले राज्यलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको बताए।
विवेक मण्डलको उपचारका लागि प्रधानमन्त्री, रास्वपा सभापति रवि लामिछाने, सभामुख तथा स्वास्थ्य मन्त्रीलगायतको पहल भए पनि उनलाई बचाउन नसकिएको सिंहले जानकारी दिए।
