काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको एउटा बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटनाग्रस्त भएको जानकारी गराए। उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए।
मृत्यु हुनेहरूमा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत र केदारस्युँ गाउँपालिका–७ की इमला महत धामी रहेको उनले उल्लेख गरे।
सांसद महरले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमग्न परिवारजनमा गहिरो समवेदना प्रकट गरे। दुर्घटनामा करिब १२ जना घाइते भएका र तीमध्ये ८ जना गम्भीर अवस्थामा रहेको उनले जानकारी दिए।
दुर्गम क्षेत्र भएकाले सडकमार्गबाट उद्धार गर्न लामो समय लाग्ने भएकोले सरकारले हेलिकप्टरमार्फत घाइतेको उद्धार गरेकोमा उनले सरकारलाई धन्यवाद दिए।
‘नेपाल सरकारले तत्काल हेलिकप्टरको व्यवस्था गरेर घाइतेको उद्धारमा सहयोग गर्यो। त्यसका लागि नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।
हाल केही घाइतेको काठमाडौंस्थित ट्रमा अस्पतालमा र केहीको नेपालगन्जमा उपचार भइरहेको जानकारी दिँदै सांसद महरले ती सबैको उपचार निःशुल्क गर्न सरकारको ध्यान आकर्षण गराए।
