काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले भनेका छन् — कुनै पनि नियम, सत्ता वा पद नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने तर्क राख्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो’ भन्दै हिँडेको आरोप लगाए। कुनै नागरिकको जीवन समाप्त हुने अवस्था सिर्जना गर्नु पनि अपराध नै हो भन्ने उनको भनाइ थियो।
“मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन। कुनै नागरिकको बाँच्ने आधार खोसेर, रोजीरोटी बन्द गरेर, निराशा र पीडाको अवस्थामा पुर्याउनु — कि ऊ आत्महत्या गर्न बाध्य होस् — त्यो पनि गोली हानेसरहको अपराध हो,” उनले भने।
सांसद शाहीले सडकमा जथाभावी पार्किङको माग आफूहरूले नगरेको स्पष्ट पार्दै यस सम्बन्धमा भ्रामक प्रचार बन्द गर्न पनि आग्रह गरे।
ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई कारबाही हुने, तर सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले सरकारसँग जवाफ माग गरे।
यसका साथै सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको प्रक्रियामाथि पनि आपत्ति जनाए। गम्भीर जलन भएका बिरामीलाई एम्बुलेन्समार्फत उपचारस्थल पुर्याउनुपर्नेमा अपराधी जस्तो हिँडाएर लगिएको भन्दै उनले राज्यसँग जवाफ माग गरे।
समयमै उचित उपचार उपलब्ध गराइएको थियो वा थिएन, भारतमा उपचारका लागि लैजान सकिने थियो वा थिएन भन्ने विषयमा राज्यले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो। मृत्यु भइसकेको अवस्थामा विमानस्थलमा भएका गतिविधिबारे पनि छानबिन हुनुपर्ने उनले बताए।
